अमेरिकामा कोरोनाविरुद्धको खोपमा राजनीति, चुनावअघि वितरण गर्ने तयारी

ओकेखबर संवाददाता २३ भाद्र २०७७, मंगलवार १६:२९ मा प्रकाशित ( साल अघि) २८६ पाठक संख्या

एजेन्सी । संयुक्त राष्ट्र अमेरिकाको निर्वाचन नजिकिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक उमेदवार जो बाइडेन एक-अर्काप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । कोरोना भाइरसविरुद्धको खोप विकास र वितरणका विषयमा पनि ट्रम्प र बाइडेनले एक-अर्कालाई आरोप लगाउनुका साथै आलोचनासमेत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले कोरोनाविरुद्धको खोप नोभेम्बरअघि नै आउने संकेत गरेका छन् । उनले नोभेम्बरको निर्वाचनअघि नै कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताउँदै डेमोक्रेटिक उमेदवार बाइडेनले ‘खोपविरुद्ध लापरबाही रुपमा अभिव्यक्ति’ दिइरहेको आरोप लगाएका छन् ।

जो बाइडेनले खोपका विषयमा राष्ट्रपति ट्रम्पले वैज्ञानिकहरुको कुरा सुनेको र यसको कार्यान्वयनको विषयमा पारदर्शी भएकामा आशंका व्यक्त गरेका छन् ।

अमेरिकामा विश्वमै सबैभन्दा बढी ६० लाखभन्दा बढी कोरोना भाइरस संक्रमित छन् । करिब एक लाख ९० हजारभन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसकै कारण आर्थिक गिरावट आएको छ भने दुई अंकमा बेरोजगारी दर बढेको छ । नागरिकस्तरमा निराशा छाएको छ ।

यस्तो अवस्थामा एकमात्रै अस्त्रका रुपमा हेरिएको कोरोनाविरुद्धको खोप विकासको काम तीव्र रुपमा भइरहेको र सम्भवतस् अक्टोबरमै खोप उपलब्ध हुने राष्ट्रपति ट्रम्पले सोमबार बताएका हुन् ।

गत साता अमेरिकी रोग नियन्त्रण तथा रोकथान केन्द्र (सीडीसी) ले पनि अमेरिकाका ५० वटै राज्यहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणका आवश्यक तयारी गर्न आग्रह गरेका थिए । सीडीसीले अमेरिकी निर्वाचनको दुई दिनअघि १ नोभेम्बरमा कोरोनाविरुद्धको खोप वितरण गरिने दाबी गरेको थियो ।

हालसम्म कुनै पनि कोरोनाविरुद्धको खोपको मानव परीक्षणको चरण पार गरिसकेका छैनन् । अमेरिकी वैज्ञानिकहरुले खोप विकास र परीक्षण चरणमा जनस्वास्थ्य र सुरक्षाभन्दा पनि राजनीतिलाई बढी ध्यान दिइएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

डेमोक्रेट उमेदवारहरु जो बाइडेन र कमला ह्यारिसले बारम्बार खोप विकासमा जनस्वास्थ्यको विषयमा ध्यान नदिएको भन्दै ट्रम्पको आलोचना गरिरहेका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पको विश्वसनीयतामाथि आशंका व्यक्त गरिरहेको बीबीसीले जनाएको छ ।

आइतबार डेमोक्रेटतर्फबाट उपराष्ट्रपति उमेदवार कमला ह्यारिसले खोप सुरक्षित भएको भन्दै प्रचार गरिएको राष्ट्रपति ट्रम्पको कुरामा विश्वास गर्नै नसकिने बताएकी थिइन् । त्यसैगरी राष्ट्रपति उमेदवार बाइडेनले ‘खोपमा राष्ट्रपति ट्रम्पले गरेको दाबीमा के जनताले विश्वास गर्न सक्छन् ? ‘ भन्दै प्रश्‍न गरेका थिए ।

‘कोरोना संक्रमण सुरु भएदेखि नै राष्ट्रपति ट्रम्पले धेरै दाबी गर्दै आएका छन् । तर, कुनै पनि सत्यसावित भएका छैनन् । के मानिसहरुले सुरक्षित खोप पाउँछन् भन्‍ने विषयमा मलाई चिन्ता लागिरहेको छ,’ पेन्सलभानियामा गरिएको सम्बोधनमा सोमबार बाइडेनले भने । -बीबीसी


सम्बन्धित खबरहरु