मलेशियामा ११ नेपाली खर्च अभावमा अलपत्र

ओकेखबर संवाददाता २९ श्रावण २०७७, बिहीबार १४:४७ मा प्रकाशित ( साल अघि) ४२९ पाठक संख्या

मलेशियाको एक कम्पनीमा कार्यरत ११ नेपाली ५ महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए ।

नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनको भनाइ छ । ५ महिनादेखि बिनारोजगार कोठामा बसिरहँदा खर्च अभाव भएको उनले  बताए ।

नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ। चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुदाँ समस्या भएको भन्दै उनले सहयोगका लागि अनुरोध गरे ।

मलेशियाबाट नेपाल आउनका लागि नियमित उडानमा ६ सयदेखि ७ सय रिङ्गेट लाग्छ भने चार्टर्ड उडानमा १  हजार ५ सय ९० रिङ्गेट पर्ने उनको भनाइ छ ।

विमानस्थल पुग्न ६ घण्टा हिँड्नुपर्ने र त्यसको लागि ७० रिङ्गेट तथा कोरोना परीक्षणका लागि ३ सय ५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताए ।

कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले ५६ हजार ७९ तिर्नुपर्ने हुन्छ ।  खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताए ।

९ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यस्था गरेको उनीहरुको भनाइ छ ।

खानाकै लागि १ जनालाई ४ सय रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठले बताए । अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम छन् ।


सम्बन्धित खबरहरु