‘भागाभाग धेरै भयो, सबै कुरा भुलिदेऊ, अहिले नै तिम्रो माइत जानुपर्छ’, त्यो दर्दनाक घटनाभन्दा अगाडि आफ्ना पतिले भनेका कुरा सम्झँदै जर्का भन्छिन्, ‘यति भनेर मेरा पतिले मलाई लिएर हिँडे । तर, उनले मलाई अर्कै घरको एउटा बगैँचामा लगे । उनले अचानक चक्कुले जर्काको नाक काटिदिए । मलाई रक्ताम्य अवस्थामा छाडेर उनी त्यहाँबाट हिँडे ।’
०००
यो घटना अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेको क्षेत्रको हो ।
१० हप्ताभन्दा बढी समय चोट सहेपछि जर्काले आशाको किरण देखिन् । उनको अनुहारलाई फेरि ठीक पार्नका लागि गरिएको अपरेसनपछि जब उनको पट्टी फेरियो, तब उनले डाक्टरलाई भनिन्, ‘म खुसी छु । मैले मेरो नाक फिर्ता पाएँ ।’
जर्काले हाते ऐनामा हेरिन्, उनको नयाँ नाक टाँका र रगतले ढाकेको थियो ।
अफगानिस्तानमा महिलाहरूविरुद्ध घरेलु हिंसा आमघटना हो । यूएन पपुलेसन फन्डले एक राष्ट्रिय सर्वेको हवाला दिँदै भनेको छ कि ८७ प्रतिशत अफगानी महिलाहरूले शारीरिक, यौन वा मनोवैज्ञानिकमध्ये कम्तीमा एक खालको हिंसाको सामना गर्नुपरेको छ ।
हिंसाको सबैभन्दा खराब घटनामा पति वा पुरुष नातेदारले महिलाहरूका विरुद्ध तेजाब वा चक्कुले आक्रमण गरेको पाइन्छ ।
जर्काले यस्तै हिंसाको सिकार हुनुपरेको थियो । पतिले उनको नाक काटिदिए । उनी भन्छिन्, ‘मेरा पति जे कुरामा पनि ममाथि शंका गर्थे ।’
आरोप लगाएर मात्र उनका पति चुप लागेर बस्दैन थिए । उनीमाथि कुटपिट गरिरहन्थे । ‘उनी मलाई अनैतिक र चरित्रहीन भन्थे । मैले उनलाई पटकपटक स्पष्टीकरण दिनुपर्थ्यो । म भन्थेँ– आरोप सबै झुट हो ।’
२८ वर्षीया जर्काको विवाह १० वर्षअघि भएको थियो । हाल उनको ६ वर्षको छोरा पनि छ । दैनिकजसो पतिको पिटाइ खाने गरेकी उनले कल्पना पनि गरेकी थिइनन् कि पतिले एक दिन नाक नै काटिदिनेछन् ।
जर्काले भनिन्, ‘जब मैले आफूलाई आज ऐनामा हेरेँ, तब आफ्नो नाक निकै रिकभर भएको पाएँ ।’
३ घण्टाको अपरेसनका क्रममा उनलाई लोकल एनेस्थेसिया दिइएको थियो ।
युद्धको विभीषिकासँग जुधिरहेको देशमा यस खालको अनुहारको पुनर्निर्माण (रिकन्स्ट्रक्सन) गर्नमा काबिल केही सर्जनहरूमध्ये डा. जलमई खान अहमदजईको नाम आउँछ । उनी पनि घाइतेको स्वास्थ्यमा देखिएको सुधारप्रति खुसी छन् ।
जर्काको अपरेसन निकै राम्रोसँग भयो । उनलाई कुनै संक्रमण छैन’, डा. खान भन्छन् ।
करिब १ दशकयता डा. खानले पति, पिता, र दाजुभाइको आक्रमणमा परेका दर्जनौँ महिलाको उपचार गरिसकेका छन् ।
इस्लामिक कानुनले अनुहारमा आक्रमण गर्नुलाई ठूलो अपराध ठान्छ तर यस्तो क्रुर काम रोकिएको छैन ।
लामो यात्रा
खैरकोट जिल्लाकी हुन् जर्का । यो जिल्ला काबुलबाट २ सय ५० किलोमिटर दक्षिणमा पाकिस्तानको सीमा छेउमा छ ।
उनी पढ्न, लेख्न जान्दिनन् । उनको गाउँ तालिबानको नियन्त्रणमा छ । स्थानीय नेता र चरमपन्थीहरूबीच भएको कुराकानीपछि उनी उपचारका लागि काबुल जान पाइन् ।
त्यो बेला डा. खान कोरोना भाइरसविरुद्ध लडिरहेका थिए । यो लडाइँमा उनले आफ्नै पत्नी गुमाएका थिए । ४९ वर्षका डा. खान जालालाबामा आफ्नी पत्नीको अन्तिम संस्कार गरी जर्काको उपचारमा खटिएका थिए ।
उनी भन्छन्, ‘जर्का मेरो सामु आउँदा उनको हालत निकै दर्दनाक थियो । उनको नाकमा डरलाग्दो गरी संक्रमण फैलिएको थियो ।’
उनले एन्टी–सेप्टिक र एन्टी–इनफ्लेमेटरी गोलीहरू दिए । जर्काको शरीरमा रगतको कमी थियो । रगत बढाउनका लागि उनलाई मल्टी–भिटाभिन ट्याब्लेट्स दिएर पठाइयो । ५ हप्तापछि जर्का फेरि काबुल आइन् । २१ जुलाईमा उनको सर्जरी भयो ।
जर्काले आफ्ना तस्वीरहरू खिच्न र घरेलु हिंसाका बारेमा गरिएको कुराकानी प्रकाशित गर्न सहमति जनाइन् ।
जर्काका पति पनि उनकै उमेर समानका हुन् । विवाह हुँदा जर्काको उमेर निकै कम थियो । उनलाई सम्झना छैन, विवाहका लागि उनको सहमति मागिएको थियो वा थिएन ।
विवाह
वर्षौँपछि उनलाई थाहा भयो कि उनका काकाले ‘डिल’ गरेका रहेछन्, जसले उनका पतिका ४ बहिनीमध्ये १ जनासँग विवाह गरेका थिए ।
उनी भन्छिन्, ‘मेरा काकाले वधूको मूल्य चुकाउन सक्दैन थिए । यस्तोमा उनले मेरो डिल गरी जिम्मा लगाए ।’
अफगानिस्तानमा केही अभिभावक केटासँग पैसा लिएर छोरीको विवाह गरिदिन्छन् । यद्यपि, यो अवैध हो तर यस्तो भइरहन्छ ।
विवाहपछि जर्कालाई थाहा भयो कि उनको पतिले आफ्ना सबै बहिनीमाथि हिंसा र मारपिट गर्थे । विवाहको १ वर्षपछि जर्काको पति दोस्रो विवाह गर्न चाहन्थे । अफगानिस्तानमा बहुविवाह असामान्य कुरा होइन ।
तर, उनका पतिले केटीका अभिभावकलाई दिन पर्याप्त पैसा जुटाउन सकेनन् । यही निराशा र रिसको मूल्य जर्काले चुकाउनुपरेको थियो ।
उनी भन्छिन्, ‘मलाई पिट्थे र म आफ्नो ज्यानलाई लिएर डराइरहन्थेँ ।’
मे महिनामा उनी भागेर माइत गइन् । पतिबाट छुटाइदिन उनले आफ्ना पितासामु हारगुहार गरिन् ।
घर छोड्नुअघि उनले पतिको अनुमति लिएकी थिइनन् । यस्तैमा उनका पति पनि ससुराली पुगे ।
‘एक रात म घरबाट बाहिर गएकी थिएँ । उनी बिहानमा मेरा अभिभावक भए ठाउँ आए । उनीसँग एउटा चक्कु थियो । उनले मेरा पितासँग छोरीलाई आफ्नो साथमा पठाइदिन भने । मेरा पिता र कजिन भाइहरूले उनलाई भने कि फेरि कुटपिट नगर्ने विश्वास नदिलाएसम्म नपठाउने भनिदिए’, जर्का सम्झन्छिन् ।
ग्यारेन्टर (साक्षी, जमानी) अगाडि राखेर अभिभावकसामु उनका पतिले अबदेखि हिंसा नगर्ने र जर्काको सुरक्षा गर्ने बाचा गरे । तर, सुसुरालीबाट घर फर्किएपछि हालत पहिलाभन्दा निकै खराब भइसकेको थियो ।
उनी भन्छिन्, ‘उनले मलाई फेरि पिटे । मलाई चक्कु लिएर खेदाए । म भागेर एक छिमेकीकहाँ पुगेँ । त्यो बेला त छिमेकीले मलाई बचाए । तर, यो एक अस्थायी समाधान थियो । उनले मलाई घरभित्र थुनेर भने– मलाई तेरो माइत लैजा ।’
तर, यो एउटा जाल थियो । पतिले जर्कालाई अर्कै घरमा लिएर गए । त्यहाँ पुगेपछि जर्कालाई धकेल्दै बगैँचातिर लिएर गए । उनका पतिसँग राइफल पनि थियो । उनी भन्छिन्, ‘उनले मलाई पक्रिए । आफ्नो गोजीबाट चक्कु निकाले र मेरो नाक काटिदिए ।’
दर्दनाक र रक्ताम्य
आफूलाई थाहै नदिई माइत गएको भन्दै उनले जर्काको नाक काटिदिएका थिए । जर्कालाई रक्ताम्य अवस्थामा छाडेर उनी त्यहाँबाट हिँडे । उनी भन्छिन्, ‘मलाई निकै पीडा भइरहेको थियो । धेरै रगत बगिरहेको थियो । मलाई सास लिनमै अप्ठेरो परिरहेको थियो ।’
उनको चिच्याहट सुनेर छिमेकीहरू मद्दतका लागि दौडिए । एक छिमेकीले उनको काटिएको नाकको भाग खोजेर निकाले ।
उनलाई स्थानीय डाक्टरकहाँ पुर्याइयो । तर, डाक्टरले नाकको काटिएको भागलाई जोड्न सम्भव नभएको बताए ।
रिकभरीको कोसिसमा रहेकी जर्का आफूलाई निकै कमजोर महसुस गर्छिन् । उनका पिता र नातेदार यो घटनाको बदला लिन चाहन्थे तर उनीहरूले जर्काका पतिलाई फेला पार्न सकेनन् ।
जर्का भन्छिन्, ‘मेरो माइती पक्ष निकै आक्रोशमा छन् । पतिलाई भेट्टाए मारिदिने भनिरहेका छन् । मेरा पिता र काकाहरूले ग्यारेन्टरको घरमा फायरिङ पनि गरे, ग्यारेन्टरलाई खुबै गाली गरे ।
जर्काका अभिभावकले हात पार्नुअघि नै प्रहरीले उनका पतिलाई पक्राउ गरी जेलमा हालिदियो ।
रक्तरञ्जित अनुहार
सुरूमा जर्काको उपचार स्थानीय स्तरमा भयो तर यो सन्तोषजनक थिएन ।
रगतले लतपतिएको देखिने जर्काको तस्वीर भाइरल बन्यो । त्यसैले पनि डा. खानको ध्यान जर्काको अवस्थातिर गयो ।
उनले जर्काको उपचार निःशुल्क गरिदिने घोषणा सामाजिक सञ्जालमा गरे । स्थानीय अधिकारीमार्फत् जर्कालाई काबुल लगियो ।
लोकल एनेस्थेसिया दिएर उनको सर्जरी भयो । जर्कालाई थाहा थियो, के भइरहेको छ ।
डा. खान उनको स्वास्थ्यप्रति अझै ध्यान दिइरहेका छन् । आवश्यक परे जर्कालाई लेजर ट्रिटमेन्ट वा सिलिकन इम्प्लान्ट्स पनि दिइने डा. खानको भनाइ छ ।
डा. खान भन्छन् कि उनले कुनै आम अफगान बिरामीसँग यस्तो उपचारका लागि २ हजार डलर लिन्थे । उनले ५ सय डलरको औषधि पनि जर्कालाई दिइसकेका छन् ।
जर्कालाई आफ्नो छोराको चिन्ता छ । ऊ अहिले आफ्नो बुबाको परिवारकै साथमा छ । उनी भन्छिन्, ‘मैले ३ महिनादेखि आफ्नो छोरा माशूकलाई देखेकी छुइनँ । म उसलाई ज्यादै माया गर्छु । ऊ मेरो साथ बसोस् भन्ने मेरो चाहना छ ।’ (बीबीसी)