समाजवाद, वि.पी. र नेपाल

मोहनबहादुर कडेल ६ श्रावण २०७७, मंगलवार १५:१३ मा प्रकाशित ( साल अघि) ८३६ पाठक संख्या

समाजवाद पाश्चात्य राजनीतिक दर्शनको उषाकाल युनानी सभ्यताको उपज हो । वि.पी. कोइरालाका अनुसार समाजवादको एउटा मुख्य लक्ष्य हो समानता । समानता भनेको राजनीतिक तथा आर्थिक समानता हो । राजनीतिक संस्कार, राजनीतिक सामाजिकीकरण, प्रचलित मूल्य मान्यता, लोकतान्त्रिक संस्कृतिको विकासको सँगसंगै समाजवादी विचारको विकास भयो । तत्कालीन राजनीतिक विचारधाराले सुधारवादी क्रान्तिकारीहरुलाई बढी आकर्षित गरेको थियो तर त्यसको वैज्ञानिक तरिका तत्कालीन समाजको मार्गदर्शन भने हुन सकेको थिएन । जसको फलस्वरुप तत्कालीन युरोप र अन्य समाजमा विभिन्न प्रकृतिका अन्याय, अत्याचार, आर्थिक शोषण तथा गरिवीको अनुभव गरियो । समाजमा हुने सबैखालका वर्गीय भेदभाव र आर्थिक सुधारको लागि खासगरी उदारवादीहरुले आवाज उठाउन थाले । यसले समाजमा राजनैतिक न्यायसहितका सुधारलाई निकै बल र प्रेरणा दिएको थियो । साथै औद्योगिक क्रान्तिसगै समाजमा देखिएका “आर्थिक शोषण” लाई हटाउने उद्देश्यले स्पष्ट कार्यदिशा सहितको वैज्ञानिक चिन्तन एवं विचारको प्रचारप्रसार हुन थाल्यो । त्यसपछि समाजवाद व्यावहारिक र राजनैतिक सिद्धान्तको रुपमा विश्व सामु स्थापित हुन पुग्यो । प्लेटोको समयमा एथेन्समा वर्ग सङ्घर्ष एवं राजनीतिक स्वार्थी आचरणबाट बच्ने प्रयासका लागि आर्दश राज्यको परिकल्पना गरिएको थियो । त्यसपछि कल्पनावादीहरु समाजमा विद्यमान सबै प्रकारका दोषहरुलाई हटाउन चाहन्थे । जब सोह्रौ शब्तादिमा इङ्ल्याण्डको दरिद्रता एवं जनसंकटको विरुद्ध भएको विद्रोहको परिणाम स्वरुप टाम्समूरले आफ्नो पहिलो पुस्तक “कल्पना लोक” को रचना गरे, जुन पुस्तकले “सवै वस्तुहरुमाथि सबैजनाको अधिकार थियो । प्रत्येक व्यक्ति सुखी थियो” भन्ने धारणा अघि सार्यो । त्यसपछि कल्पनावादीहरुको यस चिन्तनलाई सेन्ट साइमन, चाल्र्स फौरियर र रवर्ट ओवन आदि विचारकहरुले साथ दिए र समाजमा श्रृजित विभिन्न असमानताहरुलाई शान्तिपूर्ण उपायहरुद्धारा हटाउन सुस्पष्ट विचार प्रतिपादन गरे । जुन विचारलाई समाजवादी विचारको रुपमा प्रचलनमा ल्याइयो ।

 

समाजवादको स्थापनाका लागि समाजको चेतनालाई सक्रिय बनाउन फेवियन समाजवादले वकालत गर्दछ । प्रजातान्त्रिक समाजवाद भनेको फेवियन समाजवादको आधुनिक संस्करण हो । यसका अनुयायीहरु प्रजातन्त्र र समाजवाद दुवैलाई उत्तिकै महत्व दिन्छन् वास्तवमा प्रजातान्त्रिक समाजवादले समाजवादका लक्ष्यहरुलाई प्रजातान्त्रिक विधि र साधनबाट सहज, सरल, शान्तिपूर्ण र सवैधानिक उपायको माध्यमबाट प्राप्त गर्न सकिन्छ भन्ने मान्दछ । यसले माक्र्सेली समाजवादका केही महत्वपुर्ण पक्षलाई परिर्मार्जन गर्ने प्रस्ताव गर्छ । स्वतन्त्रता, समानता र भातृत्व समाजवादको आर्दश हुन् । प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने राजनीतिज्ञहरुमा बेलायतका राबर्टओवेन, आर.एच.टानी, सिडनी वेब, वेल्सफोर्ड, लास्की, जी.डि.एच कोल, अमेरिकाको नार्मन थोमस, भारतका जवाहरलाल नेहरु र नेपालका स्व. वि.पी. कोइरालाको नाम अंग्रपङ्क्तिमा उल्लेख गर्न सकिन्छ । यस सिद्धान्तको प्रतिपादन सन्दर्भमा निश्चित मिति दिन सकिदैन् र नत यसको सम्बन्धमा लिखित ग्रन्थ किटान गरेर उल्लेख गर्न सकिन्छ ।

 

वास्तवमा बेलायतलाई प्रजातान्त्रिक समाजवादको घर मानिन्छ किनकि बेलायती जनता उन्उच्च मध्यम वर्गीय परिवारका छन् । उनीहरु कहिल्यै पनि क्रान्तिकारी परिवर्तनमा विश्वास गर्दैनन् । उनीहरुमा “ स्वीकृतिबाट सरकार र स्वीकृतिबाट परिवर्तन” भन्ने छाप नै परेको छ । प्रजातान्त्रिक समाजवादले आर्थिक र सामाजिक क्षेत्रमा रहेको गंभिर विषमताहरुलाई हटाउन चाहन्छ । जुन तथ्य प्रजातान्त्रिक समाजवादका निम्न तत्वहरुले स्पष्ट गर्दछ ।

क) व्यक्तिको तुलनामा समाजको प्रधानता
समाजवादको सिद्धान्त अनुसार समाज एक एकाई हो । समाजबाट नै व्यक्तिले पूर्णता प्राप्त गर्न सक्छ । व्यक्ति समाजको अधिनमा हुन्छ । व्यक्तिगत स्वार्थ भन्दा सामूहिक स्वार्थलाई सर्वोपरी ठानिन्छ । समाजभन्दा बाहिर मानिसको अस्तित्व हुदैन । समाजमा नै व्यक्तिको हित निहित हुन्छ । यसमा सामाजिक उद्धेश्यलाई महत्व प्रदान गरिन्छ र व्यक्तिगत लाभको अन्त्य गर्ने पक्षमा वकालत गरिन्छ ।

ख) विचार र अभिव्यक्तिको सकारात्मक स्वतन्त्रता
प्रजातान्त्रिक समाजवादीहरु के मान्दछन् भने व्यक्तित्वको विकासका लागि स्वतन्त्रताको वातावरण जरुरी हुन्छ । कुनै समाजमा आर्थिक शोषणको अन्त्य भएको छ र जनताका भौतिक आवश्यकताहरुको परिपुर्ति भएको छ भने पनि त्यहाँ व्यक्तिको सर्वत्तोम विकास त्यसबेलासम्म हुदैन जवसम्म विचार र अभिव्यक्तिको स्वतन्त्रता, धर्मको स्वतन्त्रता, घुमफिर र यस्तै अन्य प्रजातान्त्रिक स्वतन्त्रताहरुको प्रत्याभुति गरिएको हुदैन । यसो भन्नुको अर्थ प्रजातान्त्रिक समाजवादको के मान्यता छ भने आर्थिक वा भौतिक समृद्धि मात्रैले मानिसको सर्वाङ्गीण विकास हुन सक्दैन । त्यसको लागि सकारात्मक स्वतन्त्रता हुनु जरुरी छ । अरुलाई आघात नपर्ने किसिमबाट आफ्ना अधिकारहरुको प्रयोग गर्न पाउनुलाई सकारात्मक स्वतन्त्रता मानिन्छ ।

ग) उत्पादन र वितरणको आंशिक सामाजीकिकरण
प्रजातान्त्रिक समाजवादले के कुरामा विश्वास राख्दछ भने समाजवादमा उत्पादन र अत्यावश्यक वस्तु र सेवाहरुको उत्पादन र वितरण मात्र राज्यको स्वामित्वमा राख्यो भने यो समाजवादतर्फ चालिएको उपलब्धिपूर्ण पाइला हुन सक्छ, यसो भन्नुको अर्थ प्रजातान्त्रिक समाजवाद आंशिक सामाजीकीकरणमा विश्वास राख्छ । समाजवादमा आर्थिक समानता प्राप्त गर्न, सामाजिक शोषण अन्त्य गर्नका लागि र सबै व्यक्तिको न्यूनतम् आवश्यकताहरु पुरा गर्नका लागि उत्पादन र वितरणका साधनहरुमा राज्यको नियन्त्रण आवश्यक पर्दछ ।

घ) नैतिक तथा भौतिक आवश्यकताहरुको परिपुर्ति
प्रजातान्त्रिक समाजवादीहरु समाजवादको लक्ष्यलाई विस्तार गर्न चाहन्छन् । उनीहरुको विचारमा समाजवादले मानिसहरुको भौतिक आवश्यकताको परिपुर्तितर्फ मात्र दृष्टि पु–याएर हुदैन । यसले व्यक्तिको व्यक्तित्वको सर्वागिङ्ण विकासको लागि उसको नैतिक, बौद्धिक र भावनात्मक आवश्यकताहरुको परिपुर्ति तर्फ पनि दृष्टि पु–याउनु पर्छ । राज्यले जनताको खाना, नाना र छानाको मात्र हेरविचार गर्ने होइन साथसाथै उनीहरुको शिक्षा, सुरक्षा, मनोरंजन, कला र संस्कृतिको पनि हेरविचार गर्नुपर्छ ।

ङ) समानताः
समाजवादको मूल तत्व नै सामाजिक र आर्थिक समानता हो । समाजवादी सिद्धान्तको प्रमुख आधार नै समाजमा ज्यादा भन्दा ज्यादा समानता ल्याउनु हो । सबैलाई समान दृष्टिले हेर्नु नै समाजवादको ध्येय हो । विशेष सुविधा यसले कसैलाई प्रदान गर्दैन । समाजका सबैलाई समान व्यवहार मार्फत समान स्तर बनाउन सहयोग गर्दछ ।

च) सबै किसिमका तानाशाहीको अन्त
प्रजातान्त्रिक समाजवाद सबै किसिमका तानाशाहीको विरोधी छ । आफ्ना लक्ष्य प्राप्ति गर्नका लागि प्रजातान्त्रिक साधनमा विश्वास गर्दछ । अरु त स्वयं कम्युनिष्टहरुले प्रतिपादन गरेको सर्वहारावर्गको तानाशाहीको पनि यसले विरोध गदर्छ । जुनसुकै तानाशाहीले पनि व्यक्तिको अधिकार र स्वतन्त्रताको दमन गर्दछ । यो मानवीय सुखको विरोधी हुन्छ । त्यसैले प्रजातान्त्रिक समाजवादले यसको विरोध गर्दछ ।

छ) शक्तिका लागि स्वस्थ होडवाजी
प्रजातान्त्रिक समाजवादले त्यस्ता प्रजातान्त्रिक संरचनाहरुको वकालत गर्छ, जसले शक्तिका लागि स्वस्थ होडवाजीमा मद्दत पु–याउँछ । बहुदलीय प्रतिस्पर्धा, संसदीय संस्थाहरु, प्रतिपक्षको प्रभावकारी भुमिका र दवाव समुहको चलखेलको यो पक्षपाती छ । अन्तर्राष्ट्रिय रुपमा समाजवादी दर्शनको पनि संसारका विभिन्न देशमा यस विचारलाई अनुशरण, संरक्षण, सवंद्र्धन र प्रचारप्रसार गर्ने राजनीतिक संगठनहरु देखिन्छन् । तसर्थ समाजवादले स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा अस्वस्थ प्रतिस्पर्धाको सट्टामा शान्तिपुर्ण सहयोग स्थापित गर्ने पक्षको समर्थन गर्दछ ।

एशियामा समाजवादको विकासक्रमलाई अध्ययन गर्दा माक्र्सलाई अध्ययन गर्नु बढी व्यावहारिक मानिन्छ । माक्र्स त्यस्ता राजनीतिज्ञ हुन् जो कहिल्यै पनि प्रजातान्त्रिक समाजवादको पक्षमा देखिएनन् । उनको आफ्नो सारा अध्ययनको केन्द्रविन्दु सर्वहारावर्गको तानाशाहीको पक्षमा रह्यो । तापनि उनले गरेका समाजको विकासक्रम, पूँजीवादको प्रारम्भ र उत्कर्ष तथा पतनको कारणहरुको व्याख्या र विवेचना निकै गहन र महत्वपूर्ण छ । आधुनिक समाजवाद यूरोपबाट प्रारम्भ भएको हो । तापनि एशियाका मुलुक अन्तर्गत पर्ने देश भारतको तत्कालीन राजनीतिज्ञहरुको भुमिका समाजवादको लहर एशियामा ल्याउन अत्यन्तै महत्वपूर्ण रहेको छ । यूरोपबाट भारतीय राजनीतिका अति प्रभावशाली व्यक्तित्वहरु जवाहरलाल नेहरु, माहात्मा गान्धी, राममनोहर लोहिया आदिले उच्च शिक्षा हासिल गरेका हुन् त्यसकारण उनीहरु यूरोपियन समाजवादीहरुबाट प्रभावित भएका थिए । त्यसको गर्दा उनीहरुमा समाजवादप्रति सकारात्मक र गहिरो छाप परेको थियो । नेहरुले भनेका थिए कि भारत लगायत विश्वको समस्याको एक मात्र समाधान समाजवाद हो । विशेष गरेर भारतीय स्वाधीनता आन्दोलन र प्रजातान्त्रिक संघर्षप्रति संवेदनशील भएर भारतीय स्वतन्त्रता आन्दोलनको प्रचारका लागि “मध्य युरोप हिन्दुस्तानी संघको स्थापना गरियो । त्यस पृष्ठभूमिमा आधारित भएर समाजवादी पार्टीको स्थापना भएको थियो । त्यस्तै वि.पी. ले भारतबाट अंग्रेजी साम्राज्यवाद नहटेसम्म नेपालमा पनि प्रजातन्त्र स्थापना हुन नसक्ने बताएका थिए । अंग्रेज र नेपालका राणाहरुबीचको सम्बन्ध शक्ति र स्वार्थका कारणले नजिक भएकाले भारतको स्वतन्त्रताको कामना गर्दै उनले पनि कांग्रेस समाजवादी पार्टीको विहार शाखाको संगठनमा महत्वपूर्ण योगदान पु–याएका थिए । साथै गान्धीवादी आव्हानको असहयोग आन्दोलनमा समेत बी.पी. कोइराला होमिए र एशियाली समाजवादीहरुको मिलेमतोमा एशियाली समाजवादी सम्मेलनको स्थापनासँगै एशियामा समाजवादको जन्म भयो ।

 

तत्कालीन भारतीय कम्युनिष्ठ पार्टीका संस्थापक नेता श्रीपाद डाँगेसँग बम्बई यात्राको क्रममा रेलमा भएको भेट स्व. वि.पी. को वैचारिक धरातलमा एउटा महत्वपूर्ण घटना थियो । त्यससमयमा “वैचारिक विकास” को आवश्यकता भएको र यसका लागि “सैद्धान्तिक दृढता” प्राप्त गर्न समाजवादी साहित्य पढ्नुपर्ने आवश्यकता औल्याएका थिए । उनले डाँगेलाई माक्र्सवादी साहित्य, कम्यनिष्ट मेनिफेस्टो (घोषणा), एन्जेल्सका कृति पढ्न सुझाएका थिए । सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्रले विश्वव्यापी रुपमा तरङ्ख ल्यायो जसले गर्दा यसको समर्थन र विरोध निरन्तर भइरहेको थियो । यसको विकल्पमा कोइराला बम्बई यात्राबाट बनारस फर्केपछि उहाँमा समाजवादी समाजको निर्माण गर्ने लामो वैचारिक यात्राको शुभारम्भ भयो । बी.पी. काशी हिन्दु विश्वविद्यालयमा पढ्न थालेपछि एक विद्यार्थी सङ्गठनको केन्द्र खोलेर पहिलो राजनैतिक समूहकोे नेतृत्व गरेका थिए । त्यससमय भन्दा अगाडि विश्व राजनीतिमा फ्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता सड्ग्राम, रुसी क्रान्ति भएको र त्यसको प्रभाव विश्वभर फैलिएको थियो । त्यसको प्रत्यक्ष प्रभाव परिवर्तन चाहने हरेक क्रान्तिकारी युवाहरुमा समेत परेको थियो । त्यससमय रुसमा स्टालिनको सत्ता थियो । उनले आफ्नो शासनकालमा भयानक व्यक्ति हत्याको श्रृड्खला चलाए र फरक विचार राख्ने कम्युनिष्टहरु समेत खोजी खोजी मार्न थाले । सो व्यक्ति हत्या प्रकरणले साम्राज्यवादका विरुद्ध रुसी विचारलाई निरुत्साहित ग–यो । त्यसबखत भारतमा महात्मा गान्धीको उदय भयो । तत्कालीन परिस्थितिको तुलनात्मक विश्लेषण गर्न सक्ने क्षमता भएका कोइराला गान्धीजीबाट धेरै प्रभावित भए । त्यसपछि उहाँको कम्युनिष्टप्रतिको मोहसमेत भड्ग भयो ।

 

तत्कालीन भारतीय समाजवादी नेता जयप्रकाश नारायण, आचार्य नरेन्द्रदेव र डा. राममनोहर लोहिया जस्ता युवाहरु मिलेर “काग्रेस सोसलिष्ट पार्टी ” को स्थापना भएको थियो । उक्त पार्टीमा एउटा आदरणीय सदस्यका रुपमा वि.पी. ले प्रवेश गर्नु भई ब्रिटिश साम्राज्यवादलाई भारतीय उपमहाद्धीपबाट हटाउन भएको स्वाधीनता आन्दोलनमा समेत सक्रिय रहनु भयो । उहाँको त्यो सदस्यता नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भैसकेपछि अन्त्य भयो । त्यस क्रममा भारतीय नेताहरुसंग जेलमा समेत पर्नु भयो । त्यहाँ डा. राजेन्द्रप्रसाद र जगजीवनराम लगायतका अन्य धेरै ठुला स्वतन्त्रता सेनानीहरुसँग सम्पर्क हुने अवसर मिल्यो । त्यसबखत प्रखर बुद्धिका कोइरालाका चिन्तनहरुले परिपक्वता हासिल गर्ने र राजनीन्तिक चिन्तनको गहिराइतिर पुग्ने वातावरण समेत मिलेको थियो । भारतीय स्वतन्त्रता संग्रामको मुल आधार “गान्धीजीको नैतिकता र आचारशास्त्र” रहेको उनको अनुभव थियो । त्यसैले महात्मा गान्धीको नैतिक आकाशले समाजवादीहरुको चिन्तन पद्धतिलाई परिवर्तन गरिदियो । तापनि माक्र्सवादको आर्थिक पक्षलाई बी.पी ले धेरै कालसम्म स्वीकार गरे । तर वि.पी. मा आर्थिक क्रान्तिका लागि स्वाधीनता, स्वतन्त्रता र प्रजातन्त्र अपरिहार्य रहन्छ र समाजवादको निर्माण लोकतान्त्रिक वातावरणमा गर्न सकिन्छ भन्ने कुरामा उनको विश्वास रह्रयो । एशियाली समाजवादी सम्मेलनको संस्थापक पार्टी नेपाली कांग्रेसले क्रान्तिपूर्वदेखि नै समाजवादी पार्टीका रुपमा परिचय दिइसकेको थियो । स्वयम् स्व. बी.पी. कोइरालाले लेख्नु भएको सन् १९५० को नेपाली काँग्रेसको ऐतिहासिक घोषणापत्र त्यहि विचारधाराको महत्वपूर्ण दस्तावेज थियो । विधिवत् समाजवादी पार्टी भएको घोषणा सहित समाजवादी कार्यक्रम ल्याउने कार्य भने सन् १९५५ मा वीरगञ्जमा सम्पन्न नेपाली काँग्रेसको अधिवेशनले गरेको थियो । त्यसपछि नेपालमा समाजवादको औपचारिक शुरुवात भयो ।

 

समाजवादको यो महाअभियानमा सबैलाई समेटेर सर्वप्रथम आव्हान गर्ने व्यक्ति वि.पी. कोइराला नै हुनुहुन्थ्यो, जो एक प्रखर समाजवादी हुनुहुन्थ्यो । उहाँको समाजवादी नेतृत्व र योगदानलाई प्रारम्भदेखि विद्यार्थी गतिविधिद्धारा नै समर्थन दिने व्यक्तित्व नेपाली कांग्रेसका समकालिन नेता कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । उहाँ तत्कालीन नेपाली कांग्रेसको प्रारम्भिक रुपरेखाको वीजसंड्गठन नेपाली राष्ट्रिय काग्रेसको प्रथम महामन्त्री हुनहुुन्थ्यो जसले स्व. वि.पी. को समाजवादी मार्गलाई उनको जीवनभर मात्र होइन, जीवनपछि पनि साथ दिनु महत्वको विषय मान्न सकिन्छ । सन् १९४७ मा कलकत्तामा सम्पन्न त्यस पार्टीको प्रथम सम्मेलनमा देशभित्रबाट राणा शाहीको कठोर जेलबाट उम्केर सहभागी हुन सफलता हासिल गर्नु भएका सर्वोच्च नेता गणेशमान सिंह हुनुहुन्थ्यो जसको क्रान्तिकारी चरित्र, प्रतिवद्धता र समर्पण नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजवादी सिद्धान्तका लागि एउटा विशिष्ट प्रकारको थियो । अन्याय र अत्याचारका विरुद्ध लड्ने र सिद्धान्त र आदर्शका लागि हिमाल झै अडिग रहेर एउटा भरोसाका रुपमा कोइरालाको नेतृत्वलाई प्रवासमा, जेलमा र अनेकौ सड्कटहरुमा साथ दिनु उहाँको विशेषता थियो । सर्वप्रथम सन् १९४७ मा बनारसमा नेपालीहरुको पहिलो राजनीतिक उद्धेश्यको संगठनका रुपमा “अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस” को स्थापना भयो । पछि त्यसलाई “नेपाली राष्ट्रिय काँग्रेस” रुपमा विकास गरियो । जब वि.सं. २००५ मा स्थापित नेपाली प्रजातन्त्र कांग्रेस समेत मिलेर वि.सं. २००६ सालमा नेपाली कांग्रेस बन्यो । राजनीतिक उद्धेश्यमा समानता देखिएकाले दुबै दलबीचको एकीकरण भएर नेपाली काँग्रेस स्थापना भयो जसको नेत्तृत्व वि.पी. ले गर्नुभयो ।

 

निष्कर्षमा, भारतीय स्वतन्त्रता आन्दोलन र नेपालको राणाशासन विरुद्धको प्रजातान्त्रिक समाजवादी आन्दोलनमा वि.पी. ले गरेको अतुलनीय र साहसिक कार्यको स्मरण र अनुसरण गर्नु उनी माथिको सच्चा श्रद्धा र उच्च मूल्याङ्कन हुनेछ । समाजवादको विश्वव्यापी लहरलाई नेपालको भूमिमा विजारोपण गर्ने कुशल राजनेताको रुपमा वि.पी. कोइराला चिनिनुहुन्छ । उनको प्रत्यक्ष नेत्तृत्वमा समाजवादको संस्थागत विकास प्रारम्भ भएको थियो । कानूनी शासन, शासनको विकेन्द्रीकरण, व्यक्तिगत स्वतन्त्रता, प्रजातन्त्रिक मूल्य मान्यता, संसदीय प्रजातन्त्र, सामाजिक न्याय, आर्थिक समानता, मानव अधिकार, प्रेस स्वतन्त्रता, सामूहिक हित आदि सिद्धान्तहरु नेपाली समाजवादको विकासमा वि.पी. को योगदान सावित भएको छ । तर पछिल्लो समय समाजवादका मूल्यमान्यता र आदर्शलाई सम्वद्ध सरकार, राजनीतिक दल र नेत्तृत्वबाट विर्सेको अनुभूति वर्तमानमा भए गरेका विभिन्न गतिविधिबाट स्पष्ट हुन्छ । यस अवस्थामा समाजवादको तिनै आदर्शहरुको परिपालना र कार्यान्वयन हुन नसक्दा देशको लागि कुशल राजनेताको अभाव महसुस भएको देखिन्छ । त्यसकारण उनको योगदानलाई नेपाली माटोमा फुलाउनु, फलाउनु र उपयोगमा ल्याउनु हामी सबैको साझा संकल्प हुनुपर्छ । त्यसपछि मात्र स्व. वि.पी. लाई महामानवकोरुपमा सच्चा सम्मान दिएको ठहर्छ । तसर्थ वि.पी. ले देखाउनु भएको बाटोमा हामी नेपालीले हिड्न सकेमा समाजवादको संस्थागत विकास सफल हुने कुरामा दुई मत नहोला । तर व्यवहारमा समाजवादको पक्षपाती तथा अनुयायीहरुमा पनि समाजवादको अभ्यास देखिदैन । सबैलाई, त्यसमा पनि समाजवादीहरुलाई त झन् चेतना रहोस् ।


सम्बन्धित खबरहरु