दक्षिण पर्वतमा कहिले बन्ला अस्पताल ? ताराहरुले कहिलेसम्म ज्यान गुमाइराख्नुपर्ने ?

राेशन तिवारी २६ असार २०७७, शुक्रबार २०:५८ मा प्रकाशित ( साल अघि) १५२१ पाठक संख्या

विश्वका धेरै मुलुकहरुले आफ्ना हरेक नागरिकलाई निशुल्क स्वास्थ सेवा प्रदान गरेको पाइन्छ । तर सरकारको पहिलो प्राथमिकतामा पर्नु पर्ने स्वास्थ जस्तो संवेदनशील क्षेत्र नेपालमा भने कहिल्यै प्राथमिकतामा पर्न सकेन । प्रसंग जोड्न चाहान्छु पर्वत जिल्ला दक्षिण भेगको । सदरमुकामबाट टाढा रहेको दक्षिण पर्वतमा हाल सम्म पनि एउटा अस्पताल छैन । अस्पताल नभएकै कारण वर्षेनि यो क्षेत्रका नागरीकले उपचारको अभावमा अकालमा ज्यान गुमाउन परेको छ । गत असार २३ गते मंगलबार उच्च रक्तचाप भएपछि उचारको लागि पोखरा लैजादै गर्दा पैयूँ गाउँपालिका वडा नम्बर २ त्रिवेणिकी २२ बर्षीय बहिनी तारा आचार्यको निधन भयो । नजिकै अस्पताल नभएर पोखरा लैजादै गर्दा अकालमा ज्यान गुमाउन परेको खबरले अत्यन्तै मर्माहत बनायो । हरेक वर्ष घट्ने यस्ता घटनाबाट दक्षिण पर्वतले कहिले मुक्ति पाउला त्यो भने समयले बताउला ।

 

यस्ता घटनाहरु बारम्बर दोहोरिदा मलाई सोध्न मन लाग्छ हामी कुन सरकारको नियन्त्रणमा छौँ ? संघीय, स्थानिय या प्रदेश ? जुन सुकै सरकारको नियन्त्रणमा भएपनि नागरीकको स्वास्थ्य पहिलो प्राथमिकतामा हुन पर्ने होइन र ? पर्वतको कुस्मा बाट दक्षिणमा पर्ने महासिला, पैयूँ अनि बिहादि गरी तीन पालिकाका आम नागरीकले विगत देखि आज सम्म पनि नयाँ नेपालको अनुभुति गरेको जस्तो मलाई लाग्दैन । स्वास्थ मात्रै होइन शिक्षा,खानेपानी, यातायात लगाएत अन्य प्रशासनिक क्षेत्रको पनि समस्या भोग्दै आएका छन । कुरा स्वास्थ्यकै गरौ । दक्षिण पर्वतका नागरीकलाई सामान्य ज्वारो आएमा, सामान्य चोटपटक लागेमा स्याङ्जा, पोखरा, पाल्पा जानुपर्ने बाध्याता छ । सम्झिदा दुख लाग्छ ।नागरिक स्वास्थमा जवाफ देहि हुनुपर्ने निकाय को त?

 

हामीले पटक पटक विभिन्न निर्वाचनमा प्रतीनिधिहरु हिजो को समय देखि छनोट गरेकै छौ । २०१७ देखि ४६, (पन्चायत) २०४६ देखि २०६३( बहुदल) अनि २०६४देखि २०७७( लोकतान्त्रिक गणतन्त्र) का उहाँहरुका विभिन्न प्रतिबदता लाई एक पटक पल्टाएर हेरौं । साच्चिकै जिल्लमा अहिले उच्च तहको नेतृत्व स्थापित भएको छ । राष्ट्रिय सभा अध्यक्ष, प्रदेश सभामुख र मन्त्री हुनुहुन्छ । उहाँहरुका कार्यलाई सुक्ष्म तरिकाले अध्ययन गरौं । उहाँहरु जनउत्तरदायी कत्तिकाे हुनुभयो ? तत्कालीन समयमा पर्वतबाट प्रतिनिधित्व गर्ने तत्कालीन सा‍‍सद उमा रेग्मी, युवा नेता राजेन्द्रप्रसाद तिवारी, गिरिराज गाैतम र महेन्द्र प्रताप सेन, तिलक श्रेष्ठ, दानकाजी श्रेष्ठ, प्रदिप प्रधान, टापेन्द्र रिजाल, युवराज सेन, एकनारायण न्यौपाने लगायत सामाजिक अगुवाहरु र जग्गा दाता परिवारहरु (जस्ले जग्गा सहयोग गर्नु भएको थियो) । अन्य थुप्रै सामाजिक अगुवाहरुको नेतृत्वदायी भुमिका र विदेशीहरुले सहयोग गर्न चाहेको परोपकारी कार्य अनि जनचासो र चिन्ताको रूपमा रहेकोे नायब साबको मन्दिरमाथि बेसि थोकको मिसन अस्पताल खोइ ? उक्त स्वास्थ परियोजनालाई तत्कालीन समयमा देशमा भएको युद्धको हो वा विभिन्न खालको प्रतिशाेधको कारण हुन गएको क्षती र त्यसपछी निर्वाचितहरुले कुन रूपमा हेर्नु भयो ? किन हुन् सकेन पहल अनि निरन्तरता ? आज गर्भवती बहिनी जस्ले अबको २०/२२ दिनमा असल सन्तानको जन्म दिदै थिइन । आज उनले न त ती बच्चा लाई नंया जीवन दिन सकिन न त आफू नै रहिन । यो लेख्दै गर्दा अत्यन्तै भावुक भएको छु । यी तारा बहिनी जस्ता सयौं ताराहरु, येस्तौ समस्याबाट सयौ दिदी अनि दाजुभाइहरुले ज्यान अकालमा गुमाएको बारेमा जानकार हामी आफै छौं । सामान्य स्वास्थ सेवा पनि छैन भन्दैछु म अहिले रहेको अवस्थालाई । तीन वटा पालिकाको झन्डै २१/२२ वडाका नागरिकको समस्या हो ।

 

खासगरि नयाँ नेपाल विशेष गरि २०६३ देखि २०७७ लाई मैले आकलन गरेको छु । यो बीचमा प्रतिनिधित्व गर्ने सासद,अनि मन्त्री र राजनीतिक नेतृत्वको भुमिकालाई कसरी लिने ? को को निर्वाचित भए के के गरे त्यो समयले बताइरहेको छ । स्वास्थ सम्बन्धि के गर्ने योजना छ भनेर सोधपुछ गर्ने कि भोट मात्रै दिइराख्ने ? कहिलेसम्म यी ताराहरुले ज्यान गुमाउनु पर्ने हो माननिय ज्युहरु ? किन हामीले प्रश्न नगर्ने तपाईंहरुलाई ? आउनुहोस सबै विचार, वाद अनि पाटी एकै आवाज बनाउँ । दक्षिण पर्वतमा सामुदायिक अस्पताल अभियान सन्चालन गरौं । राज्यलाई जवाफदेही बनाउँ । सबैको साझा मुद्दा बनाउ दक्षिण पर्वतमा सुबिधा सम्पन्न स्वास्थ केन्द्र स्थापना गरौं । केन्द्र देखि स्थानिय तहसम्म उहाँहरुको कानमा हाम्रो आवाज पुर्‍याउँ ।

 

मैले किन उहाँ २०६४ पछि निर्वाचितको भुमिकालाई विशेष फोकस गरेको हुँ भने उहाँहरु पछिल्लो समय अधिक बजेट विनियोजन हुने समयका प्रतिनिधि हुनुहुन्छ । फेरि २०७३/७४ को सरकार जस्ले ७५३ स्थानिय तहमा राम्रो स्वास्थ केन्द्र स्थापना हो कार्यक्रम तय गरेको थियो । हाम्रो जिल्लामा किन कार्यान्वयन हुन सकेन वा आएन ? माथि उल्लेख गरेका समस्या जिल्लाभर र देशभर अधिका‌स पालिकाहरुमा छ । पर्वत प्रदेश (क)का पालिकाहरुमा पनि छन् । जिल्ला स्वास्थ कार्यालयको विशेष निगरानी कता–कता पर्दछ ? कुस्मादेखि नजिकका भएको हुँदा त्याहाँ (क, प्रदेश का ठाउँ) तेस्तो ठुलो समस्या देखिएको छैन । जहाँ जिल्ला अस्पताल छ । अलिकति सहज भएको होला । त्यहा पनि समस्याहरुको समाधान छिटो गरियोस् । अस्पतालको स्तरउन्नति गरियोस् । स्थानिय सरकारले माग गरेको कुरा संघीय सरकारले किन सुनिरहेको छैन ? फेरि स्थानियहरुको सक्रियतामा भएका विभिन्न प्रयासहरु के भए ? दक्षिण पर्वतमा सुविधा सम्पन्न अस्पताल कहिले बन्ला सरकार ? जनताको मत मात्रै लिने कि नागरिक स्वास्थमा गम्भीर हुने ? हामीले प्रतिनिधि छनोटमा ध्यान पुर्‍याएको भए तत्कालीन समय अस्पतालको लागि नेतृत्वदायी भुमिका निर्वाह गरेका २०७४ प्रदेश (ख) का उम्मेदवारको सपना र जुन हजुर हाम्रो हजारौंको साकार हुने थियो नि होइन र ? सबै मिलेर एउटै स्वरमा भनौं नागरिक स्वास्थलाई प्राथमिकतामा राखियोस् ।


सम्बन्धित खबरहरु