जातीयता, उत्पीडन र म

देवीप्रसाद अधिकारी ६ असार २०७७, शनिबार १५:१३ मा प्रकाशित ( साल अघि) २१२५ पाठक संख्या

कुरो झण्डै तीन दशक अगाडितिरको हो । कक्षा ७ मा हामी सत्र अठार जना विद्यार्थी थियौं । व्यवहारिक शिक्षा अन्र्तगत एउटा छुट्टै विषयको पढाई हुन्थ्यो । जसमा केही व्यवहारिक कुराहरु पढ्न र गर्न पाइन्थ्यो । अझ बर्षमा एक पटक हुने पाक शिक्षा कार्यक्रम हाम्रो लागि विशेष हुन्थो । वर्षभरि नै आफ्नो घरमा मात्रै सीमित खानपान निकै दिक्दारिलो लाग्थो । तत्कालिन समयमा निश्चित परिकारमा घरको खाना खानु भन्दा अरु उपाय थिएन । बर्षमा एकदिन स्कूलमा नै पकाएर खान पाउँदा हामी त्यसै खुसी हुन्थ्यौं । त्यो माथि मीठो खीर अनि तारेको आलु, अचार आदि खान पाउँदा हामी त्यत्तिकै पुलकित हुन्थ्यौं । फेरि आफैले पकाउन पाउँदा हामी फुरुक्क फुरुक्क पर्थ्यौं । जानी नजानी, शिक्षकले दिने निर्देशन पालन गर्दैै आफ्नै हातले बनाउन चलाउन पाउँदा निकै मज्जा लाग्थ्यो ।

त्यो बिषयमा प्रयोगात्मक परीक्षा पनि हुन्थ्यो । शिक्षकले त्यसै पाक शिक्षाको दिनलाई प्रयोगात्कम परीक्षा भनि तोकिदिनु भएको थियो । बीस नम्बरको परीक्षामा पास अंक ८ थियो । नम्बर बढाउनको लागि जतिसक्दो पकाउने तुल्याउने काममा सहभागी हुनुपर्ने नियम सरले अघिल्लो दिननै घोषणा गरिदिनु भएको थियो । हामी केही साथी तँ छाड मँ छाड गर्दै थियौ । नम्बर कसले बढाउने भनेर असिन पसिन हुँदै थियौं । कोहि पानी ओसार्ने, कोहि आलु ताछ्ने, काट्ने, कोहि आगो बाल्ने आदि । हामी सबैको काम शिक्षकले निरीक्षण गर्दै बस्नु हुन्थो ।

म पानी लिन जादै गर्दा दुई जना साथीहरु एउटा कुनामा बसेर गफ गरिरहेको देखें । अनि मैले सँगै काम गर्न अनुरोध गरें । काम नगरे नम्बर नआउने कुरो बताएँ । उनीहरुको कुरो सुनेर म छक्क परें । हाम्लाई त काम नगर्नु भन्नुभाछ सरले । हाम्ले केहि छुन हुन्न रे । एकै स्वासमा बोले एउटा साथीले । हाम्ले छोको खान हुन्न रे । थपे अर्को साथीले । म भने अक्क न बक्क भएँ । हाम्लाई त यसै नम्बर दिने रे । फेरि थपे साथीले ।
भोलिपल्ट सरले नम्बर सुनाउनु भो । सायद म कक्षा प्रथम अनि मेहनेती पनि भएरहोला सरले मलाई सबै भन्दा धेरै बीसमा अठार दिनु भएछ । अरु साथीहरुले पनि राम्रै अंक पाए तर ती दुई साथीहरुलाई भने ८÷८ अंक दिनु भएछ । तिमीहरु दलित हौ काम गर्न परेन पास बनाइदिएको छु भन्नु भयो । उनिहरुको अनुहारमा फिस्स हाँसो देखें ।

दिनभर गोठालोबाट भोकाएर आएको बेलुका आमाले पोल्टाभरी मकै भटमास हाल्दिनु भो । घर नजिकै स्कूल चौरमा बसेर एकफाँक मुखमा हालेर चपाउँदै थिए । एक्कासी पछाडिबाट कसैले छोयो । आमाले घरबाट देख्नु भएछ । म पनि फरक्क फर्केर हेरेको त छिमेकी भाइ रहेछ । ल हेर तेस्को आँखा फुटेको । कि फाल्दे कि दे उसैलाई । उसले छोको के खाने ? आमाले कराउनु भो । टन्न भोक लाएको बेलाँ खान नपाउँदा मन मुटु कुडिँयो । चपाउँदै गरेको पनि ओकल्नु पर्यो । विचरा उस्ले मैले खाँदै गरेको देखेर छोएको हैन ।

विशेष गरेर दशैँको ठीक अगाडि बर्षमा एक पटक लाउन पाइने नयाँ कपडा सिलाएर आउँदा छिटो नहाली कसैलाई छुन, घरभित्र पस्न पाइँदैनथ्यो । त्यसैगरी भाँडा अर्चापेर आउँदा पनि । दिनभरी जोतेर आउने अन्तरे दाइले दुध, दही, खान पाउन्नथे । दिनभरी घाममा धाप्पीदा मही घुट्क्याउन पाउदैन थे बरु धेरै भए भकारोमा फालिन्थो ।

बर्षमा एकदिन, विशेष गरेर सरस्वती पुजाको दिन स्कूलका सबैजसो शिक्षक विद्यार्थी वनभोज कार्यक्रममा जाने चलन थियो । हामी केहि विद्यार्थीहरु र सरहरु मिलेर पकाउने बाड्ने काम गर्थौ । सबैजसो सहभागी एउटै पाटो वा लाइनमा बसेर खाना खान्थ्यौ । तर केहि साथिहरुलाई छुट्टै राख्ने चलन थियो । ती हुन्थे दलित भनिने साथिहरु । उनीहरुले ल्याएको सामान मिसाइदैन थियो । पकाउन चलाउन त के पकाउने गरासम्म टेक्न पाउन्नथे ती साथिहरु ।

मलाई सम्झना भएसम्म कक्षा एकदेखि सातसम्म एउटै स्कूलमा पढ्दा मेरा कक्षामा दुई चार जना त्यस्ता साथिहरु थिए, जो सधै पछाडि हुट्टै बस्थे । त्यसो किन हुन्थ्यो सुरुमा थाहा थिएन । कारण त्यही रहेछ दलित हुनु वा बनाइनु ।

मेरो घर गाउँको मुलबाटोमा छ । अक्सर वटुवाहरु हाम्रो घर नजिक चौतारीमा बिश्राम गर्ने अनि पानी खाने गर्नुहुन्थ्यो । पानी दिँदा थर सोध्ने अनि दलित भए अन्जुली बाँधेर अरुले हाल्देको धारो थापेर खानुपर्ने चलन थियो । झुक्किएर खाइहाले भाँडो सुकाउने वा आगो हालेर शुद्ध पार्नुपर्ने । त्यही भाँडोमा पशुले खाएमा माझेर पखालेर चल्ने ।

यी र यस्ता धेरै अमानवीय दृश्टान्तहरु मेरा मानषपटलमा उम्लीरहन्छन् । हुन त म एउटा अत्यन्त पुरातन ब्राह्मीन व्यावहारबादी संस्कारी परिवार र परिवेशमा हुर्केको हुँ । तर मेरो बाल अवचेतन मस्तिष्कमा नै यी अभ्यासहरु राम्रा होइनन्, यी अमानवीय व्यावहार हुन भन्ने छाप परेको थियो । मेरो बाल्यकाल धेरैजसो दलित भनिले छिमेकी भाइसँग बित्यो । ऊ मेरो घनिस्ट साथी थियो । जति बुझ्दै गएँ उति मेरो चेतना परिपक्व हुदैछ । मलाई यी अमानवीय हर्कतहरु जो कोहीले गरेको देखेनी लज्जीत बनाउँछ । एक्काइसौ शताब्दीको मानव सभ्यताको यो एउटा भयानक पाशविक अभ्यास हो । यस्ले हाम्रो सभ्यतालाई जिस्क्याइ रहेको छ ।

बि. आर. अम्बेडकर भन्छन् – जातीयता मान्छेको मस्तिष्कमा रहेको एउटा सोच मात्र हो । यो कुनै घर वा सिमाना छुट्याउने पर्खाल जस्तो सजीव र दृष्यबान हुदैन । हो यो अदृश्य सोचले व्यावहार बनाइरहेको छ । हुन त अहिलेको अधिकांश बालबलिकाहरुलाई यो अभ्यास थाहा पनि छैन । युवा पुस्तामा पनि यसको प्रभव न्यून बन्दै छ । तर पनि पुरानो पुस्तामा छुवाछुत अझै भयङ्कर रुपमा छ । त्यो भन्दा अलि तल्लो पुस्तामा छोइ–छिटो अभ्यास निक्कै घटेता पनि बिहे बारी नाता सम्बन्ध कायम गर्ने मामलामा भने अझै जडता कायमै छ । रुकुमको पछिल्लो घटना त्यसैको उपज हो ।

ग्लोरिया स्टेनेमले भनेकिछिन् – लिङ्ग र वर्णमा आधारित जातीयप्रथा एक आर्कामा अन्तर सम्बन्धित छन् र यसको अन्त्य एकै पटक सम्भव छ । यसको मतलव अमेरिकामा हुने रंगभेद होस कि हाम्रोमा हुने जातीय विभेद । यीनीहरुको जडता उस्तै छ । यी सम्बन्धित कुरालाई समाधान गर्ने सवालमा सामाजिक समानताका अभियान्ता अम्बेडकरले भने झैे दमितहरुमा अन्तरनिहित असक्षमता र असमानतालाई निर्मूल पार्न जरुरी छ । हुन पनि के देखिन्छ भने सहरी भेग र आर्थिक औकात उकासिएका बर्ग बीचमा दलित गैर दलित नाता सम्बन्ध सहजै स्थापित भएको देख्न सकिन्छ । यसमा अर्को छिप्न नसकेको पाटो के पनि छ भने गैर दलित भनौदा सामन्तीहरु दलितका राम्रा छोरी चेलीहरुसँग अन्तरंग सम्बन्ध राख्ने तर आफ्ना छोरा छोरीले चोखो मायाद्धरा स्थापित सम्बन्ध नस्वीकार्ने । जसको प्रतिकारमा चौरजहारीमा जस्तो समूदायनै परिचालित गरेर नरसम्हार गर्न समेत तयार हुने ।

यस्ता समाजमा जकडीएर बसेका पाशविक मान्यता अनि जघन्य अपराधको अन्त्य विद्यालयको कक्षा कोठादेखि नै हरेक मानवको मस्तिष्कमा चेतनाको बीज भरेर अनि व्यवहारमा परीवर्तन गरेर नै सम्भव छ । महम्मद अलि जिन्नाहले भने झै हामी तमाम नागरीक राज्यका समान नागरिक हौं भन्ने भावले बाँच्नु पर्दछ । ता कि हामीमा कुनै पनि प्रकारको विभेद छ भन्ने भान मात्र हैन हाम्रो समाज विभेदकारी छ भन्ने सोच पनि नपलाओस । दलित भनिने दमित वर्गले पनि आफूहरुलाई सधै उत्पीडीत नठानी आफ्नो व्यत्तित्व सुधार गर्दै समय सापेक्ष परिवर्तन हुन जरुरी छ । विशेष गरेर हरेक व्यत्तिको आर्थिक उन्नयन र चेतनाको विकास हुनसक्यो भने विभेद क्रमश क्षीण हुँदै जान्छ ।

 


सम्बन्धित खबरहरु