ऊर्जामन्त्री खड्काको कम्पनीविरुद्ध मुद्दा

ओकेखबर संवाददाता ९ श्रावण २०८१, बुधबार ०७:३९ मा प्रकाशित ( महिना अघि) ६५ पाठक संख्या

काठमाडौं । नेपाल स्काउटसँग लिज सम्झौता गरी लिएको जग्गा तथा भवनको ६ करोड ६९ लाख २७ हजार ८९१ रुपैयाँ बक्यौता नतिरेपछि ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

‘बहाल रकम दिलाई घरजग्गाबाट निष्कासन गरेर खाली गराइदिने’ मागसहित नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको अख्तियार प्राप्त कानुनी सल्लाहकार अधिवक्ता डा. मुकुन्द अधिकारीकी वारेस सविना देसारले खड्काल्यान्ड डेभलपमेन्टलाई विपक्षी बनाएर गत २४ असारमा काठमाडौं जिल्ला अदालतमा फिराद–पत्र (मुद्दा) दायर गरेकी हुन् ।

खड्का मुख्य सञ्चालक रहेको खड्काल्यान्डले स्काउटको लैनचौरस्थित जग्गामा ०६५ देखि भाडामा लिएको तीन रोपनी जग्गा र ०७३ देखि भाडामा लिएको दुई व्यापारिक भवनको लामो समयदेखि बक्यौता चुक्ता गरेका छैनन् ।

परिवारका सदस्यका नाममा हस्तान्तरण गरी हाल उनी कम्पनीबाट बाहिरिएका छन् । पटक–पटकको ताकेता नमानेको र अदालतको फैसला पनि कार्यान्वयन नगरेपछि बक्यौता असुलीका लागि मुद्दा दायर गर्न बाध्य भएको स्काउटले जनाएको छ ।

‘विपक्षी खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले ०८० चैत मसान्तसम्म भाडा रकम ६ करोड ६९ लाख २७ हजार ८९१ रुपैयाँ यस फिरादी संस्थालाई तिर्न बुझाउन बाँकी रहेको हुँदा मुलुकी देवानी संहिता, २०७४ को दफा ३९० (क) र ३९१ बमोजिम भुक्तानी नगरेको हुँदा सम्पूर्ण बहाल रकम र सो बहाल रकमको भरिभराउ हुँदासम्मको हर्जना तथा सोमा लाग्ने ब्याजसमेत दिलाई विपक्षीलाई बहालमा रहेको जग्गा तथा भवन संरचनाबाट समेत निष्कासन गरी न्याय इन्साफ पाऊँ,’ फिरादपत्रमा उल्लेख छ ।


सम्बन्धित खबरहरु