साउने सोमवारको लागि पशुपतिनाथमा तयारी : दर्शनार्थीका लागि तीनवटा लाइन

ओकेखबर संवाददाता ७ श्रावण २०८१, सोमबार ०८:४६ मा प्रकाशित ( महिना अघि) ४८ पाठक संख्या

काठमाण्डौ – सौरमासअनुसार पहिलो साउने सोमवारको व्रत आज सोमवारदेखि शुरु हुने भएको छ ।

आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउनुहुन्छ ।

साउन महिना भगवान् शिवको महिना र सोमवार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । पशुपतिनाथ लगायतका शिव मन्दिरमा साउनको सोमवारका दिनमा  भक्तजनको भिड लाग्छ ।

पशुपति क्षेत्रमा साउने सोमवारका लागि सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । साउनको सोमवार पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको जानकारी पनि उहाँले दिनुभयो ।

पशुपतिनाका चारै ढोका आज बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ । साउनको सोमवार पशुपति क्षेत्रमा ११ संस्थाका स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, खोजखबरको कक्ष पनि सञ्चालन गर्न लागेका छन् । साउनको सोमवार पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भिड लाग्ने गर्छ ।


सम्बन्धित खबरहरु