बङ्गलादेशबाट झन्डै आठ सय जना नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाले अनलाइन आवेदन दिन सक्ने

ओकेखबर संवाददाता ६ श्रावण २०८१, आईतवार ०८:०४ मा प्रकाशित ( महिना अघि) ४६ पाठक संख्या

काठमाण्डौ – बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका झन्डै आठ सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । झन्डै आठ सय जना विद्यार्थी स्थल र हवाई मार्ग हुँदै नेपाल फर्कनको लागि बङ्गलादेश छाडिसकेका परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले जानकारी दिनुभयो । बङ्गलादेशका विभिन्न ठाउँबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकामा सुरक्षित यात्राका लागि समन्वय गरिरहेको बङ्गलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सूचना निकालेर बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाण्डौ ल्याइने बताउनुभएको छ । सम्बन्धित परिवारको माग अनुसार बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आज स्वदेश फर्काउने व्यवस्था मिलाएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । बङ्गलादेशमा झन्डै तीन हजार जना नेपाली विद्यार्थी रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारी जागिरमा रहेको कोटा प्रणालीकाविरुद्ध बङ्गलादेशमा विद्यार्थीले विगत एक हप्तादेखि आन्दोलन गर्दै आएका छन् । सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश अलग हुँदा लडाइँ गरेका व्यक्तिका सन्तान र विशिष्ट समूहका लागि सरकारी जागिरका एक तिहाइ पद आरक्षित रहेका छन् ।

यो व्यवस्था हटाएर योग्यताका आधारमा सरकारी जागिरमा भर्ना गर्नुपर्ने आन्दोलनरत विद्यार्थीको माग छ । आन्दोलनकारीमाथी प्रहरीले बल प्रयोग गर्दा अहिलेसम्म कम्तीमा एक सय २३ जनाको ज्यान गइसकेको समाचारसंस्था एएफपीले जनाएको छ । तर सरकारले टेलिफोन र इन्टरनेट सेवा बन्द गर्दा ज्यान गुमाउनेको विवरण संकलन गर्न समस्या भइरहेको छ । बङ्गलादेश सरकारले हिजोदेखी देशभर कर्फ्यू लगाएको छ ।


सम्बन्धित खबरहरु