कोदोको रक्सी ब्रान्डिङका लागि प्रतिवेदन तयार, न्यूनतम मूल्य कति ?

ओकेखबर संवाददाता ३ श्रावण २०८१, बिहीबार ०८:२२ मा प्रकाशित ( महिना अघि) ७३ पाठक संख्या

काठमाडौं । रैथाने, स्थानीय तथा परम्परागत मदिरा उत्पादन र ब्राण्डिङ गर्न अध्ययन प्रतिवेदन तयार भएको छ । चालू आर्थिक वर्षको बजेटमा घरेलु मदिरा वैध गराए ब्राण्डिङ गर्ने विषय समेटिएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीय मदिरालाई ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री वितरण गर्नको लागि यो अध्ययन गराएको हो । तयार भएको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिसकिएको छ । समृद्धि परियोजना, कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासंघ मार्फत युनाइटेड इन्जिनियरिङ कन्सल्टेन्टस् प्रा.ली.ले यसको सम्भाव्यता अध्ययन गरेको थियो ।

प्रतिवेदनमा नेपाली मदिरा उत्पादन हुने क्षेत्र, यसमा लगाउन सकिने कर, मूल्यलगायतका विषयमा अध्ययन गरिएको छ । नेपालमा उत्पादन हुने घरेलु मदिरामा अन्तःशुल्क तथा अन्यकर कसरी संकलन गर्ने त्यसमा समेत स्पष्ट नीतिको आवश्यकता औँल्याइएको छ ।

प्रतिवेदनमा ७५० एमएल कोदोको रक्सीको २५० रुपैयाँ न्यूनतम मूल्य प्रस्ताव गरिएको छ । युपी र पाने अनुसार कोदाको रक्सीको मूल्य फरक–फरक प्रस्ताव गरिएको छ । युपी र पाने अनुसार २५०, ३४६, ३५०, ३७५, ४००, ४५०, ५००, ५७७ र ६९२ रुपैयाँ ७५० एमएल कोदोको रक्सीको मूल्य प्रस्ताव गरिएको छ ।
विभिन्न समुदाय र संस्कृति अनुसारको मदिराको मूल्य निर्धारण र ब्राण्डिङ गर्नुपर्ने कुरा पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।


सम्बन्धित खबरहरु