प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

ओकेखबर संवाददाता २९ असार २०८१, शुक्रबार ०७:२६ मा प्रकाशित ( महिना अघि) ३५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् ।

आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा दाहालले विश्वासको मत माग्दै प्रस्ताव पेश गर्नेछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको सविंधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर अहिले प्रधानमन्त्री दाहालसँग माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरेर जम्मा ६३ मत मात्र पुग्दछ । यस अंकगणित अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चित छ । प्रधानमन्त्री दाहाललाई आज विश्वासको मत नदिनका लागि काँग्रेस, एमाले लगायतका दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएपछि प्रक्रिया अनुसार नेपाली काँग्रेस, एमालेलगायतका दलहरुले नयाँ सरकार गठनका लागि दावी पेश गर्ने छन् ।

 


सम्बन्धित खबरहरु