अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, मेस्सीको पहिलो गोल

ओकेखबर संवाददाता २७ असार २०८१, बुधबार ०७:५५ मा प्रकाशित ( महिना अघि) ५१ पाठक संख्या

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० ले हराउँदै अर्जेन्टिना अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिना ३०औँ पटक कोपाको फाइनलमा प्रवेश गरेको हो । क्यानडाविरुद्धको सेमिफाइनलमा भिडन्तमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लिओनल मेस्सीले १/१ गोल गरे । अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा २२औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डी पउलको असिस्टमा सहज गोल गरेका हुन् ।

कप्तान मेस्सीले ५१औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । त्यसपछि गोल हुन नसकेपछि अर्जेन्टिना सहज जितका साथ फाइनल पुग्यो । मेस्सीले एन्जो फर्नान्डेजको पासमा गोल गरेका हुन् । जारी कोपा अमेरिकामा मेस्सीको यो पहिलो गोल हो ।

पहिलोपटक सेमिफाइनल खेलेको क्यानडाले अर्जेन्टिनाविरुद्ध गोलको केही अवसर प्राप्त गरे पनि फिनिसिङमा चुक्यो । क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडोरलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।


सम्बन्धित खबरहरु