सिफरिसमा परेका ८ देशका राजदूत अलपत्र

ओकेखबर संवाददाता २६ असार २०८१, मंगलवार ०७:२६ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या

काठमाडौं । कांग्रेस एमालेको सत्ता समीकरण बन्ने भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको ८ देशमा राजदूत सिफारिस गर्ने निर्णय अलपत्र परेको छ । कांग्रेसको कोटाबाट राजदूत बनेका व्यक्तिहरुलाई तानेर एमालेको कोटामा नयाँ राजदूत भर्ती गर्नै निर्णय सत्ता समीकरणको कोपभाजनमा परेको हो ।

मन्त्रिपरिषद्ले निर्णय गरे पनि प्रमाणित नभएकाले राजदूतको सूचीमा अब बन्ने केपी शर्मा ओली नेतृत्वको सरकारले हेरफेर गर्ने बताइएको छ । स्रोतका अनुसार माओवादीको सिफारिसमा मन्त्रिपरिषद्बाट सिफारिस भएका राजदूतको नाम हेरफेर गरिने भएको हो । माओवादीले डा. बिजन पन्तलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । उनको ठाउँमा कांग्रेसबाट सिफारिस गरिने स्रोतले जनाएको छ ।

७ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको थियो । रेग्मी र घिमिरे एमालेका तर्फबाट राजदूतमा सिफारिस भएका थिए ।उनीहरुलाई हेरफेर नगर्ने र दक्षिण कोरिया कांग्रेसलाई दिन सकिने बताइएको छ । यसैगरी अष्टे«लियाका लागि कायम रहेका कैलाशकुमार पोखरेललाई तानेर कांग्रेसको कोटाबाट पठाउने बताइएको छ । त्यहाँ नेकपा एसको तर्फबाट राजदूत रहेका छन् ।

बैठकले दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खानलाई सिफारिस गरिएको थियो । मानवअधिकारकर्मी प्याकुरेलले आफूसँग सल्लाहसमेत नगरी गरिएको सिफारिसको निर्णय अस्वीकार गर्ने घोषणा गरिसकेका छन् । उनको ठाउँ कांग्रेसलाई दिएर एमालेले अर्को ठाउँ रोज्ने जनाएको छ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले साउदीका लागि सिफारिस गरेका खानको बारे पनि विवाद भएको थियो । उनलाई यथावत राख्ने र रास्वपाको स्थानमा कांग्रेसका राजदूत पठाउने स्रोतले जनाएको छ । यसैगरी कांग्रेसका कायम रहेका केही स्थानमा नचलाउने गरी सहमति गर्न लागिएको पनि स्रोतले जनाएको छ ।

त्यसैगरी एमालेले कांग्रेसलाई मनाउन लागि केही राजदूतको देश परिवर्तन गर्न तयार देखिएको छ । त्यस्तै माओवादी, एकीकृत समाजवादी लगायतको कोटाबाट महत्वपूर्ण देशमा गएका राजदूत फिर्ता बोलाएर कांग्रेसको कोटाबाट सिफारिस गर्ने पनि एमालेले जनाएको छ ।

एमालेको नेतृत्वमा बन्ने सरकारले माओवादी कोटाबाट चीनमा गएका विष्णुपुकार श्रेष्ठ र बेलायत सिफारिस भएका बिजन पन्त तथा एकीकृत समाजवादीको कोटाबाट रुसमा गएका मिलन तुलाधर र अस्ट्रेलियामा गएका कैलाश पोखरेललाई फिर्ता बोलाउने तयारी रहेको स्रोतको दावी छ ।


सम्बन्धित खबरहरु