किन घट्यो सुनको आयात?

ओकेखबर संवाददाता २५ असार २०८१, सोमबार ०८:४९ मा प्रकाशित ( महिना अघि) ६५ पाठक संख्या

काठमाडौं । ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपैयाँ बराबरको दुुई हजार ६५१ केजी सुन आयात भएको छ ।

गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपैयाँको आयात भएको थियो। यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुुँदा आयातमा समेत कमी आएको हो । गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपैयाँको सुन आयात भएको थियो।

यसैबीच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ। विभागको तथ्यांक अनुसार चालु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ। गत वर्ष सो अवधिमा दुुई अर्ब ३३ करोड ९७ लाख ६३ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूल्य बढ्दै गएकाले कारोबारमा भने उलेख्य गिरावट आएको बताए । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनको माग बढ्न सकेको छैन, आवश्यक पर्नेले न्यून परिमाणले काम चलाउने गरेको उनको भनाइ छ।

घरखर्च चलाउन पुराना गहना बिक्री गर्ने ग्राहक धेरै आउने गरेको व्यवसायीको भनाइ छ। सिजनको समयमा सधैँ भिडभाड हुने न्युरोडका सुनचाँदी पसल सुनसान देखिन्छ । पछिल्लो दुई हप्तादेखि सुनचाँदीको कारोबार स्थिर भएको छ ।


सम्बन्धित खबरहरु