भारतलाई दोस्रोपटक आईसीसी टी ट्वान्टी विश्वकप उपाधि

ओकेखबर संवाददाता १७ असार २०८१, आईतवार ०८:०० मा प्रकाशित ( महिना अघि) ३७ पाठक संख्या

काठमाडौं । पूरा प्रतियोगितामा अपराजित रहँदै भारतले सानदार ढंगले शनिबार टी–ट्वान्टी क्रिकेट विश्वकप २०२४ को उपाधि जितेको छ । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर उपाधि जितेको हो । भारतले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । दक्षिण अफ्रिकाले पनि फाइनल सम्मको यात्रा अपराजित तय गरेको थियो, तर निर्णायक खेलमा चुक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १ सय ७६ रन बनाएको थियो । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएकामा ८ रन मात्रै बनाउन सक्यो । २१ रन बनाएर खेलिरहेका डेविड मिलर हार्दिक पान्ड्याको बलिङमा सूर्यकुमार यादवले उत्कृष्ट क्याच लिएपछि भारतको जितको आधार तयार भएको थियो

दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । उसले १२ रन बनाउँदासम्म दुई विकेट गुमाइसकेको थियो । रेजा हेनरिक र कप्तान एडेन मारक्रम समान चार रन बनाएर आउट भए । त्यसपछिका सबै ब्याटरले गतिलो योगदान दिए । ओपनर क्विन्टन डी ककले ३१ बलमा ३९ रन बनाए, त्यसमा चार चौका र एक छक्का सामेल थियो । ट्रिस्टन स्टब्ले २१ बलमा ३१ रन जोडे । उनको ब्याटबाट तीन चौका र एक छक्का निस्केको थियो ।

दक्षिण अफ्रिकाका तर्फबाट हेनरिक क्लासेनले सर्वाधिक रन बनाए, उनले २७ बलमा ५२ रनको सानदार अर्धशतकीय इनिङ्स खेले । उनले आक्रामक ब्याटिङको नमुना पेस गर्दै दुई चौका र पाँच छक्का प्रहार गरेका थिए । उनकै यसै प्रदर्शनले खेल दक्षिण अफ्रिकाको पक्षमा मोडिएको थियो । भारतीय बलरमध्ये हार्दिक पान्ड्याले तीन विकेट लिए ।

भारतका ओपनर कोहलीले मार्को जेनसनको पहिलो ओभरमै तीन चौका प्रहार गर्दै १५ रन जोडेका थिए । कप्तान रोहित शर्मालाई ९ र ऋषभ पन्तलाई शून्यमा गुमाएपछि भारत दबाबमा आएको थियो ।

भारतले सुरूआती दुई विकेट २३ रनमा गुमाएको थियो । लगत्तै सूर्यकुमार यादव पनि आउट भएपछि ३४ रनको स्कोरमा ३ विकेट गुमाउन पुगेको थियो । त्यसपछि लयमा आएका कोहलीले अक्षर पटेलसँग मिलेर ७४ रनको साझेदारी गरे । कोहलीले ५९ बलमा ७६ रन बनाए । पटेलले एक चौका र चार छक्का प्रहार गर्दै ३१ बलमा ४७ रन बनाए । उनी रनआउट भए ।

कोहलीले जोनसनकै बलमा विकेट गुमाउनुअगाडि ५९ बलमा ६ छक्का र दुई चौका आफ्नो नाममा लेखाएका थिए । उनले ४८ बलमा आफ्नो अर्धशतक पूरा गरे । शिवम दुबेले १६ बलमा २७ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकी बलरमध्ये केशव महाराज र एनरिक नोकियाले दुई/दुई विकेट लिए ।

फाइनलमा अपराजित दुई टिमबीचको भिडन्त रोचक बनेको थियो । भारतले सन् २००७ को पहिलो संस्करणको विश्वकप जितेको थियो भने दक्षिण अफ्रिका पहिलो पटक यस विश्वकपको फाइनल खेलेको हो । भारतले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।

सन् १९९८ मा दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी जितेयता उपाधिविहीन रहँदै आएको छ ।यसबीच भारतीय खेलाडी विराट कोहलीले अन्तर्राष्ट्रिय टि–२० खेलबाट संन्यास लिएको घोषणा गरेका छन् ।


सम्बन्धित खबरहरु