आज पनि केही ठाउँमा ठूलो वर्षा, विपदका घटनामा हिजो मात्रै १४ जनाको ज्यान गयो

ओकेखबर संवाददाता १४ असार २०८१, बिहीबार ०८:१८ मा प्रकाशित ( महिना अघि) ९५ पाठक संख्या

काठमाण्डौ – देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै अछामको मंगलसेनमा ८७ दशमलव ६ मिलिमिटर पानी परेको छ । मंगलसेन र दैलेखको डण्डामा ठूलो पानी परेकाले त्यस क्षेत्र आसपासका खोलानालामा बाढी आउने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यस्तै सुनसरीको सुनसरी खोलामा पानीको सतह खतराको तहभन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वदेखि पश्चिमसम्म नै मनसुनी वायु सक्रिय भएकाले धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो ओखलढुङ्गा, सङ्खुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङमा बाढी आउने गरी पानी परेको थियो । आज पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिजो मात्रै विभिन्न जिल्लामा ४४ वटा विपदजन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १४ जनाको ज्यान गएको छ । दुई जना बेपत्ता छन् ।

प्राधिकरणका प्रवक्ता उपसचिव डाक्टर डिजन भट्टराईले घटनामा १० जना घाइते भएका र सबै क्षेत्रमा गरेर १९ लाखभन्दा बढी आर्थिक क्षति भएको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार पहिरोबाट आठ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । चट्याङबाट पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको ज्यान गएको छ भने दुई जना बेपत्ता भएका छन् । एक जना घाइते छन् ।


सम्बन्धित खबरहरु