विश्वकप क्रिकेट : अमेरिकालाई हराउँदै भारत सुपर–८ मा प्रवेश

ओकेखबर संवाददाता ३१ जेष्ठ २०८१, बिहीबार ०६:३० मा प्रकाशित ( महिना अघि) ८० पाठक संख्या

काठमाडौं । अमेरिकाविरुद्ध सात विकेटको जित निकाल्दै भारत समूह चरणको अन्तिम खेलअगावै आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ । बुधबार न्यूयोर्कमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा तीन विकेट गुमााएर पूरा गर्‍यो ।

भारतको जितमा सूर्यकुमार यादवले अविजित ५० रन बनाए । उनले ४९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा भारतीय ब्याटरले बनाएको यो पहिलो अर्धशतकसमेत हो । १५–२ को अवस्थामा ब्याटिङका लागि आएको सूर्यले शिवम दुवेसँग ६७ रनको अविजित साझेदारी गर्दै भारतलाई जितसम्म डोहोर्‍याएका हुन् ।

दुवे ३१ रनमा अविजित रहे । ऋषव पन्तले १८ रन थपे । भारतका कप्तान तीन रनमा आउट हुँदा विराट कोहली भने गोल्डेन डक भएका थिए ।अमेरिकाका सौरभ नेत्रावाल्करले दुई र अली खानले एक विकेट लिए । नेत्रावाल्कर भारतीय र खान पाकिस्तानी मूलका अमेरिकी खेलाडी हुन् ।

त्यसअघि टस हारेर फिल्डिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको थियो ।अमेरिकाका नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टेभन टेलरले २४, कोरी एन्डरसनले १५, स्याडेली भान स्कलक्वकले ११ र हर्मित सिंहले १० रन थपे ।

अमेरिकालाई सस्तैमा समेट्न भारतका अर्शदीप सिंहले चार विकेट लिए । चार ओभर बलिङ गरेका अर्शदीपले नौ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई र अक्षर पटेलले एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको भारतले सुपर–८ मा स्थान पक्का गरेको हो । यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डविरुद्ध आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो ।

समान खेलबाट चार अंक जोडेको अमेरिका तालिकाको दोस्रो स्थानमा यथावत् छ । अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको र दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।


सम्बन्धित खबरहरु