विश्वकप छनोट : इन्ज्युरी समयमा गोल खाएपछि नेपालको यमनसँग बराबरी

ओकेखबर संवाददाता ३० जेष्ठ २०८१, बुधबार ०८:०८ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौं । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो ।

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि आजको गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल हो ।
नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो । नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गरेको हो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीवले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए ।

६६औं मिनेटमा नेपालले खेलमा अग्रता दियो । छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो ।
तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल-दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो । नेपालले यस खेल अघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो । तर अन्ततः नेपालले २ गोल गर्न सफल भएको हो ।


सम्बन्धित खबरहरु