इलाम–२ को उपनिर्वाचन : २० उम्मेदवार मैदानमा, कसको शक्ति कति ?

ओकेखबर संवाददाता २६ चैत्र २०८०, सोमबार ०८:२० मा प्रकाशित ( महिना अघि) २० पाठक संख्या

काठमाडौं । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि २० जना उम्मेदवार मैदानमा उत्रिएका छन् । उपनिर्वाचनको लागि १२ वटा राजनैतिक दल र आठ जना स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

विगतको अङ्कगणितले इलाम–२ मा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी दल देखिएका छन् । गत वर्ष मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए । त्यति बेला खड्कालाई माओवादी र एकीकृत समाजवादीले समर्थन गरेको थियो । रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत पाएका थिए । जसपाका यामप्रसाद लिम्बूले ७२४ मत पाएका थिए ।

समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत रहेको छ । कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । माओवादीको मत ५ हजार १५३, रास्वपाको मत ४ हजार ६८६ रहेको छ ।

यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टी १४१३, सङ्घीय लोकतान्त्रिक मञ्च १३२९, राप्रपा ११९१ मत रहेको छ ।
२०५६ सालदेखि एमालेका तत्कालीन नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले यही निर्वाचन क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए । सुवासको निधनपछि एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।

बुबाले तीन दशक धानेको संसदीय राजनीतिको विरासतलाई निरन्तरता दिनुपर्ने चुनौतीमाझ उनी मैदानमा छन् । उनलाई नेकपा माओवादी केन्द्र र विप्लवको नेकपाले समर्थन गरेको छ । सुहाङप्रति सकारात्मक तथा नकारात्मक दुवै पक्ष छन् । सकारात्मक पक्ष सुवासको विरासत र सहानुभूतिको भोट हो ।

नकारात्मक पक्ष वंशवाद र परिवारवाद हो । अर्कोतिर सुहाङलाई टिकट दिएकोमा एमालेको एउटा समूह असन्तुष्ट पनि छ । त्यस्तै एमालेलाई पहिचानविरोधिको ट्याग समेत लागेको छ । गत निर्वाचनमा सुवाससँग ११४ मतले मात्र पराजित डम्बरबहादुर खड्कालाई कांग्रेसले फेरि उम्मेदवार बनाएको छ । अघिल्लो हारको बदला लिने खड्काको दाउ छ  ।


सम्बन्धित खबरहरु