एमडीएमएसबारे छानबिन हुँदैछ : सञ्चारमन्त्री

ओकेखबर संवाददाता ४ माघ २०८०, बिहीबार १५:४० मा प्रकाशित ( महिना अघि) ९६ पाठक संख्या

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्बौं अनियमितताको आशंका गरिएको टेरामक्स खरिद प्रक्रिया कार्यान्वयनमा मन्त्रालयले रोक लगाएको र एमडीएमएसबारे छानबिन भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा मन्त्री शर्माले टेरामक्स प्रविधि जडानका लागि खरिद प्रक्रियामा प्रश्न उठेर संवैधानिक निकायबाटसमेत छानबिन भइरहेकाले कार्यन्वयन रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताए ।

उनले अदालतले पनि गोपनीयताको कानून र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको स्मरण गर्दै नेपाल टेलिकमलगायत टेलिकम अपरेटरले पनि ग्राहकको गोपनीयतामा प्रश्न उठाएपछि रोकिएको जानकारी दिए । मन्त्रालयले पनि कानून र कार्यविधि बनाएरमात्र अघि बढ्ने निर्यण गरेकाले यो लागू नभएको मन्त्री शर्माले जानकारी दिए ।

उनले एमडीएमएस प्रणालीको खरिददेखि सामग्रीबारे छानबिन समिति बनाइएको र त्यसमा गडबडी भएको निष्कर्ष निकालेको बताए । अहिले पनि एमडीएमएस निर्णयको प्रक्रियामा रहेको मन्त्रीले जानकारी दिए । एनसेलको ८० प्रतिशत शेयर खरिद(बिक्रीबारे छानबिनका निम्ति समिति बनाइएको र त्यसले काम गरिरहेको उनले जानकारी दिए ।

उनले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नै खुशीले राजीनामा दिएको दाबी पनि गरे ।
सांसदहरूले खनालले राजीनामा दिएर मात्र भाग्न खोजेको भन्दै प्रश्न उठाएपछी जवाफमा मन्त्री शर्माले सो कुरा बताएका हुन् ।

उनले भने, ‘एउटा काम गर्ने सराउन्डिङ नै गर्न सकिएन भनेर दूरसचारका निर्देशकको राजीनामा आएको हो। उहाँले मलाई नै बुझाउनु भएको हो। केही लुकाउन हामीले राजीनामा गराएका हैनौँ ।’

सञ्चार माध्यम र सोसम मिडियामा पनि यसबारे प्रश्न उठेको भन्दै आफूहरुको दबाबमा राजीनामा नगरेको मन्त्री शर्माले बताए ।


सम्बन्धित खबरहरु