फरार सूचीमा रहेका एमाले सांसद कोइरीले पाए सफाइ

ओकेखबर संवाददाता २८ मंसिर २०८०, बिहीबार २०:५७ मा प्रकाशित ( महिना अघि) ३६ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन् ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिने निर्णय सुनाएको हो । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन् ।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको थियो । सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी यस मुद्दामा सांसद कोइरीसहित २८ जना अभियुक्त थिए ।

तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको मुद्दामा थप ६ महिना कैद कैद सजाय हुने भएको छ ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो ।

मधेश आन्दोलनका क्रममा घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो ।

जिल्ला अदालत महोत्तरीले कोइरीलाई ०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी फरार छन् ।

प्रहरीको फरार सूचीमा रहेका कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी–१ बाट निर्वाचित भएका थिए ।

निर्वाचनपछि महोत्तरीका सार्वजनिक कार्यक्रममा नदेखिएका कोइरी संसद भवन नयाँ बानेश्वरमा सपथ ग्रहण कार्यक्रममा भने सहभागी भएका थिए । त्यसपछि संसदका केही बैठकमा उपस्थित भए पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि फेरि उनी ‘फरार’ भएका हुन् ।


सम्बन्धित खबरहरु