काठमाडौंमा यस वर्ष अहिलेसम्मकै चिसो, अन्य ठाउँमा कस्तो छ मौसम ?

ओकेखबर संवाददाता २४ मंसिर २०८०, आईतवार ०८:०९ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।२ डिग्री सेल्सियस देखिएको हो ।

उपत्यकाको मौसम सामान्यतया सफा रहेको छ । ‘यो यस सिजनको अहिलेसम्मकै कम तापक्रम हो’, मौसमविद् अधिकारीले भने, ‘यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम ७.४ डिग्री सेल्सियससम्म झरेको थियो, आज त्यसभन्दा पनि तल झरेको हो ।’

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको । तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

 


सम्बन्धित खबरहरु