‘नेपालको पर्यटन प्रवर्द्धन गर्न टुर गाइड आवश्यक’

ओकेखबर संवाददाता २२ मंसिर २०८०, शुक्रबार १०:२० मा प्रकाशित ( महिना अघि) ७२ पाठक संख्या

काठमाडौं । लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरूले बाह्य पर्यटकको आगमन बढाउन सरकारीस्तरबाट नीतिगत सुधारको माग गरेका छन् ।

नेपाल प्रवेश गर्ने सीमा नाकाहरू र अध्यागमन कार्यालयहरू परम्परागत र अव्यवस्थित हुँदा पर्यटकहरू चर्को गर्मीमा घण्टौँ लाइनमा र गाडिभित्र बस्नुपर्दा नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधा सम्पन्न बनाउनुपर्ने होटेल व्यवसायीको माग छ ।

यस्तै भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकजाँच गरी दुख दिने र रकम असुल्ने तथा २५ हजार भारु भन्दा बढी रकम साथमा बोक्न नपाउने जस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीले औँल्याएका छन् ।

लुम्बिनी प्रदेशका पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरूको संस्था नेप्लिज होटेलियर्स एसोसिएशन लुम्बिनी (एनएचए) ले लुम्बिनी केबलकार लिमिटेडसँग गरेको अन्तरक्रियामा एसोसिएसनका अध्यक्ष प्रवीणबहादुर पाठकले नीतिगत सुधार नगरी पर्यटक भित्राउन र उनीहरूको बसाई अवधि लम्ब्याउन नसकिने बताए ।

सरकारले पर्यटकमैत्री पूर्वाधार, नीति र कानुन बनाउन नसक्दा प्रचुर सम्भावना भएर पनि पर्यटन क्षेत्रबाट लाभ लिन नसकिएको अध्यक्ष पाठकको भनाइ छ । नारायणगढ-बुटवललगायत मुख्य राजमार्गका सडक र सडक पुलहरू निर्धारित समयमा बनाउन नसक्दा रुपन्देहीको होटेल व्यवसायमा ठुलो असर परेको पाठकको भनाइ छ ।

‘स्थल मार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, अध्यागमन कार्यालयमा पर्यटकलाई सहज र सम्मानजनक व्यवहार हुन सकेको छैन,चर्को गर्मीमा पर्यटकहरू गाडीभित्र पसिनाले भिजेर कुर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष पाठकले भने, ‘नाका क्षेत्र धुलोमैलो मुक्त स्वच्छ, आकर्षक भयो र अध्यागमन कार्यालयबाट पर्यटकको काम ढिलासुस्तीविना फटाफट हुने हो भने मात्रै पनि पर्यटकमा नेपालप्रति धेरै राम्रो छाप पर्छ ।’

भारतीय र तेस्रो मुलुकका पर्यटकलाई नेपाल घुम्न आएका बेलामा निश्चित परिमाणमा मात्र रकम बोक्न पाइने प्रावधानले नेपाललाई नै घाटा भएको भन्दै अध्यक्ष पाठकले सीमा नतोकी चाहे जति रकम बोक्न दिनुपर्ने व्यवस्था गर्न मागसमेत गरे ।

जेठ १५ देखि सञ्चालनमा आएको लुम्बिनी केबलकार परियोजना पाँचतारे होटेलसहित ५ अर्ब रूपैयाँ लागतको हो ।


सम्बन्धित खबरहरु