नेपाल–भारतका सुरक्षा अधिकारीको बैठक: ६ बुँदे सहमतिमा के छ ?

ओकेखबर संवाददाता १७ मंसिर २०८०, आईतवार ०८:१२ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

धनुषा। नेपाल–भारत खुला सीमा क्षेत्रको व्यवस्थापन सम्बन्धमा प्रत्येक छ महिनामा बस्दै आएको दुवै देशका सुरक्षा अधिकारीको बैठक शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।

बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशबाट हुने तस्करी रोकथाम, दसगजा क्षेत्रमा अतिक्रमण गरी बनाइएका अवैध संरचनालाई हटाउने विषयमा दुवै देशका सुरक्षा अधिकारी कडाइका साथ प्रस्तुत हुने सहितको छ बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रमणि पाण्डेले जानकारी दिए ।

बैठकमा जनकपुरधाममा आउन लागेको रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतबाट आउने तीर्थालुलाई सीमा क्षेत्रको प्रवेश सुरक्षित र सहज गर्नुका साथ साथै आपराधिक क्रियाकलापको सूचना दुवै देशका सुरक्षा अधिकारीले एकअर्कालाई सहज रूपमा प्रदान गर्ने विषयमा समेत सहमति भएको छ।

तस्करहरूले नेपालबाट भारतमा लग्ने अवैध रक्सी र भारतबाट नेपालमा भित्र्याइने मनोद्वीपक औषधको नियन्त्रण गर्ने विषयमा पनि सहमति भएको धनुषाका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले जानकारी दिए । बैठकमा नेपालतर्फको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी पाण्डेले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमारले गरेका थिए ।

मधेश प्रदेशको धनुषा, महोत्तरी, सप्तरी र सिराहा गरी चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका जिल्ला प्रमुख, सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अनुसन्धानका जिल्ला प्रमुख र भारत विहारको मधुवनी जिल्लाका डिएम, मधुवनी जिल्लाका एसपी सुशीलकुमार, मधुवनीका डिडिसी विशालराजसहितका सुरक्षा अधिकारीको बैठकमा सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु