हमासले थप ८ जना र इजरायली जेलबाट ३० प्यालेस्टिनी रिहा

ओकेखबर संवाददाता १५ मंसिर २०८०, शुक्रबार ०९:४३ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

एजेन्सी । इजरायल र प्यालेस्टिनी विद्राेही समूह हमासबीच भएको युद्धविरामको सातौँ दिन गाजाबाट थप आठ जना इजरायली बन्धक मुक्त भएका छन् । अस्ति बुधवार दुई र सातौँ दिन हिजो बिहीवार आठसहित हमासले १० जनालाई रिहा गरेको छ । इजरायलले बदलामा थप ३० प्यालेस्टिनी बन्दीलाई जेलबाट रिहा गरेकाे जनाएको छ ।

हमासले एक जना बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति थियो । हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएको शुक्रवारदेखि लागू भएको हो । इजरायल र हमासबीच हिजो एक दिनका लागि युद्धविराम थपिएको थियो । यो अवधि सकिएसँगै फेरि विस्तार गर्ने या नगर्ने अन्योल छ । तर युद्धविराम थप गर्न निरन्तर छलफल र वार्ता चलिरहेको छ । कतार, अमेरिका र इजिप्टको पहलमा दुई पक्षसँग छलफल भैरहेको बीबीसीले जनाएको छ ।

अमेरिकी शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले इजरायललाई नागरिकको जीवन रक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ । ब्लिन्केन इजरायलको भ्रमणमा हुनुहुन्छ ।

गएको अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । उसले दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलको प्रतिआक्रमणमा झन्डै छ हजार बालबालिकासहित १४ हजार आठ सय जनाभन्दा धेरै मानिस मारिएका गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबरहरु