सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न १८ जना पक्राउ

ओकेखबर संवाददाता ८ मंसिर २०८०, शुक्रबार १९:११ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित अठार जनालाई पक्राउ गरेको छ ।

आज महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई भर्खरै नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

‘तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको छ ।’ प्रवक्ता डाँगीले भने, ‘उनीहरुको नामावली सङ्कलनलगायत काम पनि भइरहेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए ।


सम्बन्धित खबरहरु