दुर्गा प्रसाईँलाई नजरबन्दमा राखिएको छैन: गृहमन्त्रीको सचिवालय

ओकेखबर संवाददाता ८ मंसिर २०८०, शुक्रबार १८:२४ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौ। राजावादी दुर्गा प्रसाईँलाई नजरबन्दमा नराखिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

राजधानीको तीनकुनेमा प्रदर्शनको तयारीमा रहेका प्रसाईँलाई भक्तपुरस्थित घरमै नजरबन्दमा राखिएको समाचारहरू प्रकाशित भइरहेको बेला गृहमन्त्रीको सचिवालयले खण्डन गरेको हो।

गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले प्रसाईँलाई नजरबन्दमा राखिएको भन्दै प्रकाशित समाचार र हल्लाहरू झुट र काल्पनिक रहेको बताएका छन्।

उनले भनेका छन्–दुर्गा प्रसाईँ गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पूर्णत झुट र काल्पनिक हल्ला मात्रै हो।

सल्लाहकार गिरीले मंसिर ७ गतेका भएको प्रसाईँको प्रदर्शनका क्रममा रबरको गोली प्रयोग भएको भन्ने विषयमा पनि सत्यता नरहेको बताएका छन्। उनले भनेका छन्, ‘हिजोको प्रदर्शनमा द्विपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस् र निजी एवम् सार्वजनिक सम्पत्तिको नोक्सानी हुन नपाओस् भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको तथा केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्याँस र पानीको फोहोरा मात्रै प्रयोग गरिएको, प्रचार गरिए जस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको सबैमा अवगत नै छ।

प्रसाईँको समूहले काठमाडौंमा निरन्तर सरकारविरुद्ध प्रदर्शन गरेको योजना बनाएको छ। सोही अनुसार आज तीनकुनेमा प्रदर्शन गर्न लागेको थियो। तर, आफूलाई ‘होम एरेष्ट’ गरिएको भन्दै प्रसाईँले बिहानै निवासमै पत्रकार सम्मेलन गरेका थिए।

 


सम्बन्धित खबरहरु