कक्षा ११ को वार्षिक परीक्षा माघ अगाडि हुनुपर्ने

ओकेखबर संवाददाता १५ श्रावण २०७७, बिहीबार ०७:५४ मा प्रकाशित ( साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व नै परीक्षा दिइसक्नुपर्ने अर्यालले जानकारी दिए । अर्यालका अनुसार यो परीक्षाको संपरीक्षण बोर्डले नै गर्नेछ ।

गत असार १९ गते बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालय नै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।

बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनत्तम ‘डि प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनै पर्दछ ।

विद्यालयहरूले बोर्डले तोकेको समयावधिभित्र अनुकूलता मिलाएर सामाजिक दूरी कायम गर्न मिल्ने गरी एक दिनमा एक सिफ्ट वा एकै दिन दुई सिफ्टमा फरक विषय वा दुई सिफ्टमा एउटै विषयको परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । एकै दिन सिफ्टका आधारमा एउटै विषयको परीक्षा सञ्चालन गर्दा फरक प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्न पनि सकिने कार्यविधिमा उल्लेख छ ।

परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्ने भए पनि विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि छनौट गरेका विषयहरूको रजिष्ट्रेशन भने राष्ट्रिय परीक्षा बोर्डमै गराउनु पर्दछ । विषय छनौटको आधार पाठ्यक्रम विकास केन्द्रले तय गरे अनुसार हुनेछ ।

३० प्रतिशत भन्दा बढी अनुपस्थित विद्यार्थीले कक्षा ११ को वार्षिक परीक्षमा सहभागी हुन पाउने छैन । निर्देशिकामा भनिएको छ, ‘विद्यार्थीहरूको दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तिमा ७० (सत्तरी) प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्नेछ ।’


सम्बन्धित खबरहरु