कोरोनाबाट बलिउडका संगीतकार वाजिद खानको निधन

ओकेखबर संवाददाता १९ जेष्ठ २०७७, सोमबार ०८:४६ मा प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

एजेन्सी । कारोना भाइरसको संक्रमणबाट बलिउडका संगीतकार वाजिद खानको निधन भएको छ । गएराति वाजिदको निधन भएको उनको परिवारले पुष्टि गरेको छ । वाजिदको निधनले बलिउडको चर्चित साजिद–वाजिदको जोडी टुटेको छ ।

वाजिदले आफ्ना भाई साजिदसँग मिलेर बलिउडका केही फिल्ममा संगीत भरेका छन् । उनीहरुको जोडीलाई साजिद वाजिदको जोडीका नामले चिनिन्छ ।

उनी मिर्गौलाको उपचार गराइरहेका थिए । तर उपचारका क्रममा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गायक सोनु निगमले फेसबुकमा पोस्ट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् ।

उनको परिवारले भनेको छ, ‘वाजिद खान मिर्गौलाको बिरामी थिए र दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।’ वाजिद खानको एक साताअघि मात्रै पछिल्लो गीत ‘भाइ–भाइ’ रिलिज भएको थियो ।

वाजिद खानले आफ्ना भाइ साजिदसँग मिलेर सन् १९९८ मा सलमान खान अभिनित फिल्म ‘मैंने प्यार किया’ मा संगीत दिएर चर्चामा आएका थिए । उनले सोनु निगमको एल्बम ‘दिवाना’ मा समेत संगीत भरेका थिए । सन् १९९९ मा नै उनले फिल्म ‘हेल्लो ब्रदर’ का लागि संगीत निर्देशकका रुपमा काम गरेका थिए ।


सम्बन्धित खबरहरु