काठमाडौं । १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई हराएको छ ।
ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई १–० ले हरायो । नेपालका लागि खेलको ५४ औँ मिनेटमा सेनु परियारले गोल गरिन् ।
यसअघि गएको शुक्रवार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । आजको जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग पर्सि मङ्गलवार खेल्नेछ ।
प्रतियाेगिताकाे फाइनल खेल माघ २५ गते हुनेछ । बङ्गलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ वटा टोली सहभागि प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।