निर्मला हत्या प्रकरणका सात वर्ष : शून्य नतिजा, अनुसन्धान जारी

ओकेखबर संवाददाता १२ श्रावण २०८२, आईतवार ०८:०५ मा प्रकाशित ( महिना अघि) ८१६ पाठक संख्या
भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन्। घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त-१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गयो।

घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर आन्दोलनसमेत भयो। सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन भए। प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार निर्मलाको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डीएनए जाँच गरिएको छ।

बहालवाला प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज बिष्ट र उनको छोराको समेत डीएनए जाँच गरिएको थियो। एउटै घटनाको अनुसन्धानका लागि यति धेरै मान्छेको डीएनए जाँच गरिएको यो पहिलो रहेको प्रहरी अधिकारीहरू बताउँछन्। तर अहिलेसम्म कसैसँग पनि डीएनए म्याच गरेको भएको छैन।

७ वर्षको अवधिमा अहिलेसम्म ६५५ जनासँग सोधपुछ गरिएको छ। प्रत्यक्ष व्यक्ति भेटेरै ६५५ जनासँग सोधपुछ गरिएको पन्तको अनुसन्धान विवरणमा प्रहरीले समावेश गराएको छ।

घटना भएको स्थल वरपर सीसीक्यामेरा नभएकाले प्राविधिकभन्दा म्यानुअल अनुसन्धान गरेको छ। त्यसक्रममा आपराधिक पृष्ठभूमिका व्यक्ति, लागूऔषध सेवनकर्ता, घटनास्थल वरपर आउजाउ गर्ने व्यक्तिहरूको विवरण समेत प्रहरीले केलाएको थियो।

त्यसक्रममा अहिलेसम्म सुरक्षाकर्मी, भारतीय नागरिक समेत गरेर ६५५ जनालाई प्रत्यक्ष भेटेरै सोधपुछ गरिएको प्रवक्ता बोहराले बताए। सुरुवाती चरणमा प्रहरीले मोबाइल लोकेसनका आधारमा अनुसन्धान गरेको थियो। हालसम्म बीटीएस ट्रयाकमा देखिएका करिब ५०० मोबाइलको प्राविधिक विश्लेषण गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले अहिले पनि प्रहरीले निर्मला पन्तको घटना प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए।

घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो। पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए।


सम्बन्धित खबरहरु