
उनले एमाले ठूला-ठूला आँधीबेहरी र तुफानको सामना गरेर आएको पार्टी भएकाले यस्ता सामान्य झोक्काले कुनै असर नपार्ने स्पष्ट पारे । हालै सम्पन्न पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकमा कर्णाली प्रदेशले प्रदर्शन गरेको एकताको प्रशंसा गर्दै उनले पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिकाका लागि धन्यवाद ज्ञापन गरे ।

बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीका अनुसार, अध्यक्ष ओलीले पार्टीभित्रको अस्थिरता नियोजित भएको सङ्केत गरेका थिए ।
अध्यक्ष ओलीले अबको सम्पूर्ण ध्यान र ऊर्जा ‘मिसन ०८४’ मा केन्द्रित गर्न नेताहरूलाई आह्वान गरेका छन् । ‘तपाईँहरू यो अलमलमा नपर्नुहोस्, आ-आफ्नो भूगोल र क्षेत्रमा पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्,’ उनले निर्देशन दिए, ‘कर्णालीका दशवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्ति बनाउने एकसूत्रीय लक्ष्यका साथ अघि बढ्नुहोस् ।’