
मधेश प्रदेशमा हालसम्म १ हजार ४१ पशुमा लम्पी स्किन संक्रमण फैलिएको छ भने १५ वटा पशुको मृत्यु भइसकेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामले जनाएको छ । निर्देशनालयका निर्देशक जागेश्वर यादवले रोग देखिना साथ प्रदेशका सबै जिल्लामा सो रोगविरुद्धको खोप पठाएको भए पनि न्यूनीकरण हुन नसकेको बताए ।

यो रोगको संक्रमण सबैभन्दा बढी सिरहा जिल्लामा देखिएको छ । सिरहामा ३७३ वटा पशुमा यो रोगको संक्रमण देखिएको छ । त्यसैगरी, धनुषामा ३३०, सर्लाहीमा २५०, रौतहटमा ७६ र बारामा १२ वटा पशुमा लम्पी स्किन संक्रमण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सप्तरी, महोत्तरी र पर्सामा भने हालसम्म लम्पी स्किन संक्रमण फेला नपरेको निर्देशनालयले जनाएको छ ।
लम्पी स्किन रोगका कारण सबैभन्दा बढी धनुषामा ७ पशुको मृत्यु भएको छ । सर्लाही र रौतहटमा समान चार/चारवटा पशुको मृत्यु भएको छ भने अन्य जिल्लामा हालसम्म मृत्यु नभएको निर्देशक यादवले बताए । उनले लम्पी स्किन संक्रमणबाट सर्लाहीको हरिवन नगरपालिकामा ३ र लालबन्दी नगरपालिकामा १ गरी कुल चारवटा पशुको मृत्यु भएको बताए ।
धनुषा नगराइनका किसान कलम हुसेनले भने, ‘लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन, बिउहरू खेतमै सुक्न थालेकाले यहाँका किसानहरू चिन्तामा छँदै थियो । अहिले आएर यो रोगले झन् हामी पीडा बढाइदिएको छ ।’