गत बुधवार राती ती आक्रमणकारीलाई हेटौँडा ३ स्थित लेवटको जम्बु चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार भाग्ने तयारी गर्दैगर्दा एक जना पक्राउ परेका र अन्य भने चाल पाएर फरार भएको प्रवक्ता अर्यालले बताए। प्रवक्ता अर्यालले ती आक्रमणकारीको पहिचान खुलाएका छैनन् । सबैजना पक्राउ परेपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चारजनाको समूहले अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण गरेका थिए। टाउकोमा प्रहार गरी मोविल पनि छ्यापिदिएका थिए।
उनीहरूले वडाध्यक्ष न्यौपानेको दुई थाप मोबाइलसमेत लगेका थिए। वडाध्यक्ष न्यौपानेलाई आक्रमण गर्ने व्यक्तिलाई पक्राउ नगरिएकोमा आलोचना भइरहेको थियो। फरार रहेकाको खोजी जारी रहेको जनाइएको छ।
केहीदिन अघि हेटौँडा-१ स्वर्गलोकको सार्वजनिक जमिनमा घरटहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो। सोही कारण आक्रमण भएको थियो ।