धनी राष्ट्रले वाचा पूरा गरून्: प्रधानमन्त्री ओली

ओकेखबर संवाददाता १७ असार २०८२, मंगलवार ११:३१ मा प्रकाशित ( हफ्ता अघि) ३९ पाठक संख्या
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा समग्र आर्थिक वृद्धि भए पनि अल्पविकसित मुलुकहरू पछाडि पारिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्ष समेत हो ।

स्पेनको सेभियामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास सहयोग घट्दै गएको, ऋणको भार तीन गुणाले बढेको, लगानी कमजोर रहेको, प्रविधिमा गहिरो खाडल रहेको र जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार यिनै मुलुकले व्यहोर्नु परेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले न्यायसंगत तथा समावेशी वैश्विक आर्थिक प्रणाली निर्माणको माग गर्दै विकास साझेदारहरूले कुल राष्ट्रिय आम्दानीको शून्य दशमलब ७ प्रतिशत विकासशील राष्ट्रहरूलाई र शून्य दशमलब २ प्रतिशत अल्पविकसित राष्ट्रहरूलाई सहायता दिनुपर्ने बताए ।

उनले अनुदान र सहुलियतपूर्ण ऋणको पहुँच बढाउनुपर्ने, तथा संयुक्त राष्ट्रसंघको नेतृत्वमा अन्तर्राष्ट्रिय कर सम्झौता गर्नुपर्ने धारणा राखे । ओलीले सेभिया प्रतिवद्धता २०३० को दिगो विकास लक्ष्य प्राप्तिका लागि टर्निङ पोइन्ट हुने विश्वास व्यक्त गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयनमा जोड दिए । नेपाल सन् २०२६ मा एलडीसीबाट स्तरोन्नति गर्न लागिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहुलियतपूर्ण वित्तीय र प्राविधिक सहयोगको आवश्यकता दोहोर्याउँदै सबैलाई समेट्ने दिगो र न्यायपूर्ण विश्व निर्माण गर्न आह्वान गरे ।

ओली स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा सहभागी
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री साञ्चेजबीच आइतबार दुईपक्षीय भेटवार्ता भएको थियो ।


सम्बन्धित खबरहरु