युवालाई देशमा रोक्न नसक्ने हो भने बजेट किन ल्याउनुपर्‍यो ?: चन्द्र भण्डारी

ओकेखबर संवाददाता ५ असार २०८२, बिहीबार १८:३४ मा प्रकाशित ( महिना अघि) ४२ पाठक संख्या
नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले युवाहरूलाई देशमै बसाउन नसक्ने हो भने बजेट किन ल्याउने भन्दै प्रश्न गरेका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकमा विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो प्रश्न गरेका हुन्।

उनले विनियोजित विधेयकमाथि सातवटा विषयमा छलफल गर्ने भनेर दलीय आधारमा समय मागे पनि अचानक तीनवटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको स्पष्ट पारे।

युवाहरू शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरू विदेश पलायन भइरहेको चित्रण गर्दै यस्तो अवस्थामा बजेट ल्याउनु आवश्यक नभएको उनको दावी थियो। यस्तो अवस्थामा बजेटभन्दा पनि आवश्यकतातर्फ गम्भीर बन्नुपर्नेमा उनले जोड दिए। सांसद भण्डारीले विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौं भनेर व्यवस्था ल्याएको ३४ वर्ष बितिसक्दा पनि युवाहरूलाई स्वदेशमै रोक्ने नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे। संसद्‌मा देखिएका असहमतिको समाधानका निम्ति उनले सरकारलाई आग्रह गरे।

भण्डारीले भने, ‘हाम्रा युवाहरू शिक्षा, रोजगारी र दलालीको नाममा बाहिर गएका छन् र बाहिर गएर पनि सुख पाएका छैनन्। युवाविहीन नेपाल बनाउने हो भने यो बजेट किन? विभिन्न शीर्षकमा छलफल किन ? हामी युवाविहीन हुँदै छौं, गाउँघरमा युवा छैनन्, बूढाबूढीमात्र छन्। विरामीको उपचार र मृत्यु हुँदा लास उठाउने व्यक्ति छैन। हामी त्यसतर्फ गम्भीर हुनसकेनौं। यस विषयमा हामी छलफल गर्न चाहँदैनौं।’


सम्बन्धित खबरहरु