उदयपुरमा दुई जनाको शव भेटियो

ओकेखबर संवाददाता ४ असार २०८२, बुधबार १०:०५ मा प्रकाशित ( महिना अघि) ४५ पाठक संख्या
उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरले चौदण्डीगढीमा दुईजनाकाे शव फेला परेको पुष्टि गरेको छ । प्रहरीकाअनुसार मृतकहरूमा स्थानीय २८ वर्षीय रविन राई र १४ वर्षीया बालिका मञ्जु राई हुन् ।

बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मञ्जुको शव सार्वजनिक बाटोमा फेला परेको थियो भने घटनास्थलबाट करिब दुई सय मिटर पर युवक रविनको शव झुन्डिएको अवस्थामा भेटिएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय, बेल्टारबाट प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा टोली खटिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी हरिहर योगीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा हत्यापछि आत्महत्या भएको आशंका गर्न सकिन्छ, तर हामी पोष्टमार्टम रिपोर्ट र अन्य प्रमाणको प्रतीक्षामा छौं,’ एसपी योगीले भने ।

शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मृतक दुवै छिमेकी हुन् ।

मृतक बालिका कक्षा १० की छात्रा थिइन् भने युवक हालै वैदेशिक रोजगारीको लागि पासपोर्ट बनाउन घर आएका थिए । प्रहरीले थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ ।


सम्बन्धित खबरहरु