कीर्तिमानी तीन सुपर ओभरमा नेदरल्यान्ड्ससँग नेपाल पराजित

ओकेखबर संवाददाता ३ असार २०८२, मंगलवार ०७:४० मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या
स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजको एक रोचक खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरसम्म पुगेको प्रतिस्पर्धामा पराजित भएको छ । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमै यो पहिलो तीन सुपर ओभरको खेल हाे ।

१५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । पहिलो सुपर ओभरमा दुवै टोलीले १९-१९ रन बनाउँदा दोस्रोमा पनि बराबरी भयो, १७-१७ रन । अन्ततः तेस्रो सुपर ओभरमा नेपालले रन बनाउन नसक्दा जित नेदरल्याण्ड्सको पोल्टामा गयो ।

तेस्रो सुपर ओभरको पहिलो बलमै कप्तान रोहित पौडेल आउट भएपछि दबाबमा परेको नेपालका नयाँ खेलाडी रुपेश कुमार सिंहले तीन बल खाली खेलेपछि विकेट गुमाए । नेदरल्याण्ड्सले भने सजिलै जित दर्ता गर्‍यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलमा ३ चौका र २ छक्का सहित ४८ रन बनाए । ओपनर कुशल भुर्तेलले ३४ रन, डेब्यु गरेका किरण ठगुन्नाले १५ रन र रुपेश सिंहले १९ रनको योगदान दिए । अन्य ब्याटरहरू भने खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ नेदरल्याण्ड्सका डेनियल डोरम प्रभावशाली रहे । उनले चार ओभरमा मात्र १४ रन खर्चिएर तीन महत्वपूर्ण विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले सात विकेट गुमाउँदै १५२ रन बनाएको थियो । तेजा निदामनुरुले ३५ रन, विक्रमजित सिंहले ३० रन, सकिब जुल्फिकरले २५, माइकल लेभिटले २० र म्याक्स ओ’डाउडले १९ रन जोडे ।

नेपालका बलरहरूमध्ये सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पा रे। कुशल भुर्तेल र ललित राजवंशीले एक-एक विकेट लिए ।

खेलमा नेपालका लागि दुई खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे,अलराउन्डर रुपेश कुमार सिंह र ब्याट्सम्यान किरण ठगुन्ना । यद्यपि, उनीहरूको प्रयास टोलीलाई जित दिलाउन भने पर्याप्त भएन । यसअघि सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।


सम्बन्धित खबरहरु