अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान, को-को छन् चुनावी मैदानमा ?

ओकेखबर संवाददाता ३० जेष्ठ २०८२, बिहीबार ०७:११ मा प्रकाशित ( महिना अघि) ७० पाठक संख्या
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । २४औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आयोजना गरिएको यो निर्वाचनमा पहिलोपटक विद्युतीय प्रणालीमार्फत मतदान हुने भएको छ ।

महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलका अनुसार मतदान बिहान ८ बजेबाट सुरु भई अपराह्न ४ बजेसम्म चल्नेछ । बुधबार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भइसकेको छ भने विद्युतीय मेसिनहरूमा उम्मेदवारका नामहरू समावेश गरिसकिएको छ ।

अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरिया बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ भने खुला उपाध्यक्ष पदमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, र गणेशबहादुर शाही मैदानमा छन् । यस्तै महिला उपाध्यक्ष पदका लागि सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराई प्रतिस्पर्धामा छन् । महासचिव पदमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।

निवर्तमान अध्यक्ष समिक बडालले विद्युतीय मेसिनबाट मतदान गर्दा प्रक्रिया छरितो हुने र कागजी मतपत्रको झन्झट हट्ने बताए । राम-लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिनेछ ।

महाधिवेशनमा १,५४३ जना प्रतिनिधिले मतदान गर्ने छन्। विभिन्न पदका लागि ५१९ जना उम्मेदवार रहेका छन् । एक प्रतिनिधिले सम्पूर्ण पदमा मतदान गर्नका लागि १५/२० मिनेट समय लाग्ने अनुमान गरिएको छ ।

यसपटकको महाधिवेशनमा पहिलोपटक ३२ वर्ष उमेर सीमा तोकिएको छ, जसले अनेरास्ववियुको नेतृत्वमा नयाँ पुस्तालाई स्थान दिने संकेत गरेको छ । महाधिवेशन यही जेठ २५ गतेदेखि सुरु भएको हो ।


सम्बन्धित खबरहरु