यो निर्णय आगामी जुन ९ देखि कार्यान्वयनमा आउने फक्स न्युजले जनाएको छ । ह्वाइट हाउसका अनुसार, पूर्ण प्रतिबन्धको सूचीमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन परेका छन् । यी देशका नागरिकहरूले अब सामान्य अवस्थामा अमेरिकी भिसा प्राप्त गर्न सक्ने छैनन् ।
त्यसैगरी, बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक यात्रा प्रतिबन्धको दायरामा राखिएको छ । ह्वाइट हाउसका अधिकारीहरूले यो निर्णय राष्ट्रपति ट्रम्पको चुनावी वाचा अनुसार ‘अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने’ प्रतिबद्धताको हिस्सा भएको बताएका छन् । उपप्रवक्ता अबिगेल ज्याक्सनले भनिन्, ‘अमेरिकी जनतालाई हानि पुर्याउन चाहने खतरनाक विदेशी तत्वहरूबाट जोगाउन राष्ट्रपति ट्रम्पले प्रतिबद्धता पूरा गरिरहनुभएको छ ।’
उनले यी प्रतिबन्धहरूलाई ‘साझा समझदारी’को कदम भन्दै थपिन्, ‘यो निर्णय ती देशहरुमा लक्षित छ जसमा उचित जाँच प्रक्रिया छैन, भिसा अवधि नाघ्ने दर उच्च छ र खतरा सम्बन्धी सूचना आदानप्रदान गर्न असफल छन् ।’
यद्यपि, यो प्रतिबन्ध अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरू, जुन ९ भन्दा अघि नै भिसा प्राप्त गरिसकेकाहरू, केही निश्चित भिसा श्रेणीका आवेदकहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा पुर्याउने व्यक्तिहरूका हकमा भने लागु नहुने समाचारमा उल्लेख छ ।