हार्वर्डमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनको रोक

ओकेखबर संवाददाता १० जेष्ठ २०८२, शुक्रबार १०:०० मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या
अमेरिकाको ट्रम्प प्रशासनले विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमतिपत्र (स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेसन) खारेज गरिदिएको छ ।
यो कदमले विश्वविद्यालय र प्रशासनबीच चर्किएको असमझदारीलाई थप उत्कर्षमा पुर्‍याएको छ भने हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्य अनिश्चित बनेको छ ।

अमेरिकाको आन्तरिक मामिला हेर्ने डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा प्रशासनले ‘हार्वर्ड कानुनसम्मत काम गर्न विफल भएकाले’ यो निर्णय लिएको बताएका छन् । उनले यसलाई देशभरिका सबै विश्वविद्यालय तथा शैक्षिक केन्द्रहरूका निम्ति एक चेतावनीको संज्ञा दिए । नोमले हार्वर्डमाथि हिंसा तथा यहुदीविरोधी भावना फैलाउन दिएको र उसको क्याम्पसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग साँठगाँठ गरेको गम्भीर आरोप लगाए ।
यो निर्णयसँगै हार्वर्डमा हाल अध्ययनरत विदेशी विद्यार्थीहरूले अन्य विश्वविद्यालयमा स्थानान्तरण (ट्रान्सफर) लिनुपर्ने नोमले बताए । गत शैक्षिक वर्षमा हार्वर्डमा ६ हजार ७ सय विदेशी विद्यार्थी भर्ना भएका थिए, जुन कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो ।

विश्वविद्यालयले आफ्ना प्रभावित विद्यार्थीहरूलाई मार्गदर्शन र सहयोग गर्न द्रुत गतिमा काम गरिरहेको जनाएको छ । यो अप्रत्याशित निर्णयले हार्वर्डमा अध्ययनरत हजारौं विद्यार्थीहरूमाझ त्रास, निराशा र भ्रम छाएको छ । स्नातक हुन लागेका कतिपय विद्यार्थीले आफ्नो भविष्यबारे गहिरो चिन्ता व्यक्त गरेका छन् ।
ट्रम्प प्रशासनले यसअघि दर्जनौं विश्वविद्यालयहरूमा छानबिन गरी कतिपयलाई आफ्ना नीति मान्न बाध्य पारेको थियो । तर, हार्वर्डले गत अप्रिलमा प्रशासनको निर्देशन अस्वीकार गर्दै उल्टै मुद्दा दायर गरेको थियो । प्रशासनले हार्वर्डलाई क्याम्पसमा हुने यहुदीविरोधी भावनासँग लड्न भर्ना, अध्यापन लगायतका अभ्यासहरूमा परिवर्तन गर्न निर्देशन दिएको थियो, अन्यथा विश्वविद्यालयको करछुटको हैसियत खारेज गर्ने र अर्बौं डलरको कोष रोक्का गर्ने धम्की दिएको थियो ।


सम्बन्धित खबरहरु