२७ दिनको खडेरीपछि परेको पानीले प्रदूषण कम हुने अपेक्षा गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने बताए । ‘आजको पानीले थोरै राहत मिल्नेछ, तर भोलिसम्मको वर्षाले प्रदूषण अझै हटाउने आशा गरिएको छ,’ उनले भने ।
अहिले काठमाडौं उपत्यकासँगै झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङलगायत पूर्वदेखि सुदूरपश्चिमसम्मै मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । हालको वर्षा पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारणले भएको हो । मौसमविद्हरूका अनुसार यो प्रणाली शुक्रबारसम्म सक्रिय रहनेछ ।