अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए। यी वरिष्ठ अन्तरिक्षयात्रीद्वय नासाकै अर्का सहयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभसँगै फ्लोरिडाको तालहासी नजिकै समुन्द्रमा ओर्लिएका हुन् । उनीहरू मंगलबार साँझ ५ बजेर ५७ मिनेट (नेपाली समयअनुसार बुधबार बिहान ४: ४२ बजे) पृथ्वीमा आइपुगेको नासाले जनाएको छ । उनीहरूको पृथ्वीमा अवतरण र अन्तरिक्षयानबाट बाहिर आउँदै गरेको क्षणको नासाले प्रत्यक्ष प्रसारण गरेको थियो ।
उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ।
नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन्।
उनीहरू ८ दिनका लागि अन्तरिक्षमा गएकोमा यानमा प्राविधिक खराबी देखिएपछि लामो समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमै रोकिनुपरेको थियो ।
सुनीता र बुचको अनपेक्षित लामो अन्तरिक्ष बसाइँका कारण विश्वभरका मानिसहरूमा चासो बढेको थियो । विशेष गरी उनीहरूको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको थियो । स्पेस एक्स ड्रागन क्याप्सुलमार्फत उनीहरू सुरक्षित रूपमा घर फर्किएको नासाले जनाएको छ ।
बुच र सुनीता हात हल्लाउँदै मुस्कुराउँदै स्पेसएक्स ड्रागनबाट बाहिर निस्कएको बीबीसीको लाइभ रिपोर्टिङमा उल्लेख छ । उनीहरूको अन्तरिक्षयान फ्लोरिडाको समुद्रमा अवतरण गर्दा उत्सुक डल्फिनहरूले त्यसलाई घेरेका थिए ।
उनीहरूको आगमनसँगै नासा र स्पेस एक्सले पत्रकार सम्मेलन पनि गरेको थियो । अन्तरिक्षयात्रीहरू भने सम्मेलनमा उपस्थित भएनन् । नासाका अनुसार उनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षणमा पुनः अभ्यस्त हुन केही समय लाग्नेछ । परिवारसँग भेट गर्नुअघि उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ ।