नतिजासँगै भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विश्वासको जित भएको उल्लेख गर्दै एक दशकदेखिको संकटबाट दिल्लीका जनता मुक्त भएको टिप्पणी गरे। भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९३ मा सुस्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन।
७० सिटको विधानसभामा सत्तारुढ आम आदमी पार्टी आप भने २२ सिटमा सीमित भएको छ। चुनावमा पराजयपछि आप नेता केजरीवालले जनताको फैसला स्वीकार्ने बताए।
सन् २०१५ मा आपले ६७ र २०२० मा ६२ स्थानमा जित हासिल गरेर शासन गरेको थियो। यसपटकको चुनावमा भने आम आदमी पार्टी निकै कमजोर देखिएको हो। चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आपका संस्थापक केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पराजित भए।
वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन्। सन् १९९८ देखि २००८ सम्म बहुमतसहितको ३ कार्यकाल सत्तामा रहेको कंग्रेसले यस पटक पनि खाता खोल्न सकेन। कांग्रेस दिल्लीमा सिटविहीन रहेको यो लगातार तेस्रो कार्यकाल हो।