स्थानीय ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घरपरिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन। यहाँका सबैले खुला स्थानमै शौच गर्दै आएका छन्। यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनाको जनसंख्या रहेको छ। यहाँ बसोबास गर्ने सबैजना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिसापिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन्।
बस्तीकै ५० वर्षीय शंकर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबुबाजे पालादेखि नै सपरिवार खुला स्थानमै शौच गर्दै आएको बताए। स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, वास र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठुलो कुरा भएको बताए। यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु भन्दै उनले प्रतिप्रश्न गरे।
सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामर्थ्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताए।
शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैनादेवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छी र अन्य जनावरको डर हुने गरेको दुखेसो गरे। उनका अनुसार ठुला पुरुष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन्, तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनैकुनै वेला पिटाइ खानुपर्ने हुन्छ।
खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्याङ्ग्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन।
चारैतिरै सबै कुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गाजमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालयसमेत निर्माण गर्न नसकिएको वडाध्यक्ष अब्दुल गफार राइनले बताए।
वडाध्यक्ष राइनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबैजनाको एकनासको बस्ने जग्गासमेत छैन। कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन।
वडाध्यक्ष राइनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकांकमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए।
यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकाशमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद भएको सरसफाइविज्ञ उमाशंकर यादवले बताए।
मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरु षडानन्द पढेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो।