जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको थुनछेक बहस हुँदै

ओकेखबर संवाददाता २९ पुष २०८१, सोमबार ०८:४१ मा प्रकाशित ( महिना अघि) २२ पाठक संख्या
सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै छ । यसअघि आइतबार आफैँ अदालतमा उपस्थित भएका लामिछानेलाई अदालतले प्रहरी हिरासतमा राख्न आदेश दिएको थियो ।

अदालतले प्रहरीको जिम्मा लगाएसँगै लामिछाने प्रहरी हिरासतमा छन् । लामिछानेको मुद्दा शुक्रबार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुनुवाइ भएको थियो । अदालतले उनलाई आज बिहान १० बजे अदालतमा उपस्थित गराउन भनेको छ ।

आइतबार अदालतमा लामिछानेको बयान भएको थियो । उनको बयान सकिएसँगै आजदेखि थुनछेक बहस हुन लागेको हो । यसअघि जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो । लामिछानेविरुद्ध पोखरा र काठमाडौंका साथसाथै चितवन, बुटवल तथा वीरगञ्जमा पनि मुद्दा छ ।

 

‘काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो,’ काठमाडौं अदालतमा स्रेस्तेदार रामु शर्माले आइतबार भनेका थिए, ‘भोलि (आज) १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ ।’

आज सुरुमा सरकारी वकिलहरूले बहस गर्नेछन् । सबै पक्षको बहस आजै सकिए लामिछानेलाई पुर्पक्षका लागि हिरासतमा पठाउने या तारेखमा रिहा गर्नेबारेमा आदेश आउन सक्छ । बहस आजै सकिन्छ कि सकिँदैन भन्न सकिने अवस्था नरहेको बताइएको छ । यदि आज सबै पक्षको बहस नसकिएमा भने लामिछानेलाई पुनः हिरासतमा पठाइन सक्नेछ ।


सम्बन्धित खबरहरु