चुरे पहाडको फेदमा रहेको पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा ताल अवस्थित छ। यहाँको मनमोहक दृश्य, पूर्वाधार विकासलगायत कारणले आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा जखेरा ताल रहेको स्थानीय बताउँछन्।
अहिले ताल अवलोकन, घुमघाम गर्ने, वनभोज खानेलगायत प्रयोजनका लागि दैनिक दुई सयदेखि तीन सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका जखेरा तालका कर्मचारी ओमभक्त चौधरीले बताए। उनका अनुसार बिदाको दिनमा छ–सात सयसम्म पर्यटकहरू आउने गर्दछन्।
लुम्बिनी प्रदेशको राजधानीबाट नजिक पर्ने सो ताल अहिले पर्यटकको आकर्षक केन्द्र बन्दै गएको हो। प्रदेश राजधानीमा आएका अन्य जिल्लाका सरकारी, सङ्घसंस्थाका प्रतिनिधिहरू समय अनुकूल परेर जखेरा अवलोकनका लागि यहाँ आउने गरेका चौधरीले बताए। बाह्र बिघा क्षेत्रफल रहेकामा अहिले साढे सात बिघा ताल फैलिएको छ।
तालको वरिपरि बाँकी ठाउँमा वनजङ्गल छ। तालको गहिराइ छदेखि सात फिटसम्म रहेको जनाउँदै कर्मचारी चौधरीले उत्तरतर्फ गणेशको र पूर्वमा सिद्देश्वर महादेवको मन्दिर अवस्थित रहेकाले धार्मिक पर्यटकको आकमन पनि हुने गरेको बताए। यहाँ आउने पर्यटक ढुङ्गा चढेर मन्दिर दर्शन गर्दछन्।
विगतका वर्षमा नागरिकहरूको श्रमदान र राज्यका निकायले गरेको सहयोगले अहिले यो ताल जिल्लाको मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित हुँदै गएको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए।
अध्यक्ष उपाध्यायका अनुसार गत वर्ष सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय दाङले रु चार करोड रकम उपलब्ध गराएको र उक्त रकमबाट तालको संरक्षण, मर्मत सम्भार, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पक्की नालालगायत पूर्वाधार विकास निर्माण गरिएको हो।
यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको छ। स्थानीय थारू भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ, त्यस ठाउँलाई ‘जखेरा’ भनिन्छ। विसं २०३० मा साविकको सोनपुर गाउँ विकास समिति हालको लमही नगरपालिका–३ निवासी स्व दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर खेर गइराहेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले चुरे पहाडको फेदीमा कृत्रिम खाडल खनी मानवनिर्मित जलभण्डारणका रूपमा राखिएको थियो। सोही ताल अहिले जखेरा तालका नाममा परिचित भएको हो।
दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किमी दूरी यात्रा गरेपछि ताल भएको स्थानमा पुगिन्छ। पूर्वपश्चिम राजर्मागबाट नजिक रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गर्दछन्। – नारायणी रजौरे