यी प्रदेशमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउनू

ओकेखबर संवाददाता २४ श्रावण २०८१, बिहीबार ०८:२६ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा अहिले साधारणदेखि पूर्णतया बदली छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर साधारणतया बदली रहनेछ ।

राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 


सम्बन्धित खबरहरु