केन्द्रीय सुरक्षा समिति बैठकको निर्देशनअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अहिले तैनाथ सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार विदेशी नागरिक जथाभावी देशभित्र प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएको हो ।
विमानस्थल तथा देश भित्रिने र बाहिरिने नाकाका साथै विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशनसमेत दिइएको छ ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य देशबाट मानिसको घुसपैठ हुन सक्नेतर्फ सतर्क रहँदै सीमा क्षेत्रमा जनशक्ति थपगरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
बङ्गलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि हिजो प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको छ ।