पोखरा पहिरोले एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

ओकेखबर संवाददाता २९ असार २०८१, शुक्रबार ०८:०२ मा प्रकाशित ( साल अघि) १०२ पाठक संख्या
काठमाडौं । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् ।

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

पहिरोमा पुरिएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो । पहिरो बिहीवार राति १०ः३० बजे परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् । मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए । पहिरोमा बेपत्ताको खोजी भइरहेको उनले जनाए ।


सम्बन्धित खबरहरु